४ शतक बनेको खेलमा पाकिस्तानको कीर्तिमानी जित

विश्वकप इतिहासकै सर्वाधिक ठूलो (३४५ रन) लक्ष्य पूरा गर्दै पाकिस्तानले श्रीलंकामाथि कीर्तिमानी जित हासिल गरेको छ। उक्त खेलमा चार जना खेलाडीले शतक प्रहार गरेका थिए।

तस्वीर: एपी

काठमाडौँ– अब्दुल्लाह शफिक र मोहम्मद रिजवानको शतकमा पाकिस्तानले आईसीसी विश्वकपमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ। मंगलबार राति भएको खेलमा विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै पाकिस्तानले कीर्तिमानी जित हासिल गरेको हो। 

हैदरावादमा जितका लागि पाएको ३४५ रनको विशाल लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। 

पाकिस्तानले विश्वकप इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको हो। यसअघि विश्वकपमा सबैभन्दा ठूलो लक्ष्य २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३२८ रनको लक्ष्य पूरा गरेको थियो। 

पाकिस्तानको जितमा मोहम्मद रिजवान १३१ रनमा अविजित रहे। उनले १२१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। अब्दूल्लाह शफिकले १०३ बलमा १० चौका र ३ छक्कासहित ११३ रनको शतकीय इनिङ्स खेले। ईमाम उल हक १२ र कप्तान बाबर आजम १० रनमा आउट भए। 

श्रीलंकाका दिलशन मदुसन्काले २ तथा महेश थिक्सना र मथिसा पाथिरानाले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३४४ रन बनाएको थियो। श्रीलंकाका कुशल मेन्डिसले १२२ रन बनाए। उनले ७७ बलमा १४ चौका र ६ छक्का प्रहार गरे। उनले ६५ बलमा शतक हानेका थिए। सदिरा समराविक्रमाले १०८ रन बनाए। उनले ७९ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए। पाथुम निसान्काले ५१ रन तथा धनञ्जय डी सिल्भाले २५ रन बनाए।

पाकिस्तानका हसन अलीले ४ तथा हरिस रौफले २ विकेट लिए। विश्वकप इतिहासमा एकै खेलमा पहिलो पटक चार शतक बनेका हुन्। 

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो। अब शनिबार भारतसँग खेल्नेछ। श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो। अब सोमबार अस्ट्रेलियासँग खेल्नेछ।