एसीसी यू १९ प्रिमियर कप : इरानविरुद्ध नेपाल २७४ रनले विजयी

नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान ७९ रनमा अलआउट भएको हो।

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कपमा नेपालले इरानललाई २७४ रनले पराजित गरेको छ। 

मलेसियाको वाईएसडी यूकेएम ओभल बांगीमा नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान ७९ रनमा अलआउट भयो। 

नेपालका लागि सुवास भण्डारी र दीपक कँडेलले ३/३ विकेट लिए। भण्डारीले ८.५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए। ७औँ ओभरमा बलिङ शुरू गरेका कँडेलले ४ रन मात्रै दिए। 

यस्तै ७ ओभरमा १९ रन खर्चिएर हेमन्त धामीले २ र ३ ओभरमा २७ रन खर्चिएर आकाश चन्दले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनाएको थियो। इनिङमा कप्तान देव खनालले शतक प्रहार गरे भने ओपनर दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धशतक बनाएका थिए।

दीपक बोहराले ६५ रन, दीपक डुम्रेले ६९ रन बनाए। यस्तै, दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुभास भण्डारी १८ रन जोडेका थिए।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एशियाका विभिन्न १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई विभिन्न चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा  नेपालसहित बहराइन, साउदी अरब र इरान छन् भने समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन छन्। समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोएसिया छन्।

प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन्।