युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनायो।युएईका वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले।

तस्वीर : क्यान

काठमाडौँ– मोहम्मद वासिमको अर्धशतकमा युएईले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ।

तीन एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनायो।युएईका वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

मध्यक्रमका ब्याटर अलिशन शराफुले ४३ बलमा ३ चौकासहित ३५ रन जोड्दा वृत्य अरविन्दले २५ रन जोडे। बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ र विष्णु शुकुमारनले १५ रन बनाए। युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए।

करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल युएईविरुद्ध पहिलो जितको खोजीमा छ।

सोमबार पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।