पूर्वप्रधानाध्यापक भवानीविक्रम राणा सम्झिन्छन्– ‘बर्खामा घुँडा–घुँडासम्म पानी हुन्थ्यो, कक्षाकोठा मान्द्रोले बेरिएका थिए भने बेन्चको अभाव थियो। कतिपय विद्यार्थी भुईंमा बसेर पनि पढ्ने गर्थे।’
काठमाडौँ– राणाकालीन समयको उत्तरार्धमा स्थापना भएको शिवपुरी माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ। विसं २००५ सालमा तत्कालीन बाँसबारी आधारभूत पाठशालाको रूपमा स्थापित भएको शिवपुरी माध्यमिक विद्यालयले ७५औँ वर्ष पूरा भएको अवसरमा शनिबार स्थापना दिवसका साथै हीरक जयन्ती मनाएको हो।
पूर्वप्रधानाध्यापक भवानीविक्रम राणा सीमित स्रोतसाधनका बलबुतामा विद्यालयलाई अघि बढाएको सम्झन्छन्। उनले बाँसबारी विद्यालयबाट शिवपुरी विद्यालयसम्मको यात्रा सहज नभएको ‘नवपालुवा’ हीरक जयन्ती विशेषांकमा उल्लेख गरेका छन्। उनले पुस्तिकामा उल्लेख गरेअनुसार पहिले विद्यालयको अवस्था दयनीय थियो। बर्खामा घुँडा घुँडासम्म पानी हुन्थ्यो, कक्षाकोठा मान्द्रोले बेरिएका थिए भने बेन्चको अभाव थियो। बेन्चमा बस्नका लागि विद्यार्थीमाझ खोसाखोस हुन्थ्यो। कतिपय विद्यार्थी भुईंमा बसेर पनि पढ्ने गर्थे।
आर्थिक स्रोत अभावका बाबजुद विद्यालयका सहकर्मीबीचको तारतम्यले विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर वृद्धिमा एकरूपता आएको उनको भनाइ छ। विद्यालयका शिक्षकमार्फत भएका उदाहरणीय कामका बारेमा पनि उनले स्मारिकामा उल्लेख गरेका छन्।
“शिक्षिका रीना मिसका श्रीमान् जितबहादुर थापा डेनिडामा काम गर्थे। उनीमार्फत पाएको सहयोग ६० लाखमा ४९ लाखको भवन बन्यो र बाँकी रकम विद्यालयको केमेस्ट्री ल्याब तथा फिजिक्स ल्याब बनाउनका निम्ति प्रयाग भएको थियो। साथै, त्यस समय बनेपाको शिर मेमोरियल विद्यालयमा मात्रै कम्प्युटरको पढाइ भइरहँदा शिवपुरी विद्यालयले पनि केही थान कम्प्युटर किनी कम्प्युटर शिक्षा शुरू गरेको थियो,” उनले उल्लेख गरेका छन्, “जसलगतै युवराज धीरेन्द्र सरकारकाबाट आएको एक लाख रकमले विद्यालयको पश्चिमतर्फको भवन बनको थियो।”
प्रधानाध्यापक प्रकाश सुवेदी सामुदायिक विद्यालयमाझ बेग्लै छाप बनाएको विद्यालयले देशको विभिन्न राजनीतिक कालखण्ड पनि आफूलाई निरन्तर बलियो रूपमा स्थापित गरेको बताउँछन्। उनले स्थापनाकालदेखि लामो कालखण्ड पार गर्दै विद्यालयले ७५ वर्ष पार गर्नु आफैँमा ऐतिहासिक विषय रहेको बताए। उनले विद्यालयप्रति अभिभावक, विद्यार्थीको विश्वासको कारण कारण यो सम्भव भएको सुनाए।
महानगरअन्तर्गतको अब्बल स्कुल
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयअन्तर्गत यो विद्यालय अब्बल श्रेणीमा पर्ने प्रधानाध्यापक सुवेदीको दाबी छ। महाराजगन्जस्थित वडा–३ मा पर्ने यो विद्यालयलाई महानगरले आफ्नो प्राविधिक शिक्षालयका रूपमा समेत विकास गरेको छ। प्रधानाध्यापक सुवेदीका अनुसार महानगरले उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा कम्प्युटर अध्ययन गराउन ५० लाख रुपैयाँ अनुदानसहित विद्यालयलाई छनोट गरेको हो।

त्यस्तै, महानगरले नै यो विद्यालयलाई २०७३ सालमा शैक्षिक अवस्था र भौतिक संरचनातर्फ उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत गरेको थियो। महानगरकै एक वडा एक नमूना विद्यालयका रूपमा पनि यही संस्था छनोट भएको थियो। केही वर्षअघि मात्रै ब्रिटिस काउन्सिलले शिवपुरीलाई उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा अवार्ड प्रदान गरेको थियो।
अतिरिक्त क्रियाकलापलाई प्राथमिकता
प्रधानाध्यापक सुवेदीले काठमाडौँ महानगर नमूना विद्यालयमा पर्ने यो विद्यालयमा अध्ययनबाहेक अतिरिक्त क्रियाकलापलाई पनि स्थान दिने गरेको बताए। विद्यालयमा रहेको स्टिम टिम, बाबा टिम, राष्ट्रिय सेवा दल (एनसीसी टिम) लगायत क्लबले विद्यालयका विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अनवरत खटेको प्रधानाध्यापक सुवेदी बताउँछन्।
सामुदायिक विद्यालयलाई हेयको दृष्टिले हेरिने, विद्यालयका शिक्षक अल्छी हुने, निजी विद्यालयसरह विद्यार्थीहरू प्रतिस्पर्धी र सक्षम नहुने लगायतका भाष्यलाई विद्यालयले तोड्दै अघि बढेको उनी बताउँछन्। शिवपुरी आर्थिक अवस्था सामान्यदेखि राम्रो रहेका पारिवारिक पृष्ठभूमिका छात्रछात्राको रोजाइमा रहेको बताउँदै उनले हरेक वर्ष शैक्षिक गुणस्तरलाई बढाउँदै लगेको जनाए।
यद्यपि, विद्यालयमा आवश्यक फर्निचर, शौचालयलगायतका भौतिक सुविधातर्फ भने केही कमजोरी रहेको उनी स्विकार्छन्। उनले अतिथिहरूलाई विद्यालयको भौतिक अवस्थाबारे अवगत गराएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र काठमाडौँ–५ बाट निर्वाचित कांग्रेस सांसद प्रदीप पौडेल, काठमाडौँ महानगर वडा–३ वडाध्यक्ष प्रेम थापालाई विद्यालयमा परेको असुविधाबारे ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा शिक्षामन्त्री राई र सांसद पौडेलले शिवपुरी विद्यालय देशकै उदाहरणीय शैक्षिक संस्था रहेको बताए। मन्त्री राईले शिक्षा प्रदान गर्ने विषयमा देशकै उत्कृष्ट विद्यालयका रूपमा शिवपुरी स्थापित भएको भन्दै विद्यालयको प्रशंसा गरे।
विद्यालयले हीरक जयन्तीका अवसरमा असोज २२ देखि २६ सम्म हाजिरी जवाफ, वक्तृत्वकला, सांगीतिकलगायत कार्यक्रम आयोजना गरेको थियो। विद्यालयको वर्षगाँठको अवसरमा विजेता विद्यार्थी, विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो। यस अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू सूर्यप्रसाद श्रेष्ठ, नरहरि आचार्य, ध्रुवबहादुर प्रधान, सूर्यकिरण गुरुङ, प्रेमबल्लभ विष्ट र केशवराज शर्मालाई पनि सम्मान गरेको थियो।
ब्रह्मशमशेरबाट प्राप्त भएको भवनबाट शुरू भएर बाँसबारी आधारभूत पाठशाला, बाँसबारी मिडल स्कुल, बाँसबारी माध्यमिक विद्यालय हुँदै हाल शिवपुरी माध्यमिक विद्यालयको रूपमा स्थापित हो। हाल कक्षा ११–१२ को बिहानीसत्रसँगै यस विद्यालयमा १ हजार ५९४ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ५३ जना शिक्षक र आठ जना कर्मचारी कार्यरत छन्। विद्यालयमा १ देखि १२ कक्षाका अलावा शिवपुरीको संरचनाबाटै स्नातक तहका दुई संकाय व्यवस्थापन र मानविकीको पनि अध्ययन गराइँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
