दोस्रो ओडीआईमा यूएईविरुद्ध नेपाल ३ विकेटले विजयी

यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।

काठमाडौं– यूएईसँगको दोस्रो एक दिवसयी क्रिकेटमा नेपाल तीन विकेटले विजय भएको छ।

यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो। नेपालको यो जितसँगै शृंखला बराबरी भएको छ। यसअघि सोमबार पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो।

नेपालका लागि गुल्सन झाले ३७ रनको योगदान दिए। यनले ४९ बलमा ४ चौध र १ छक्का प्रहार गरे। त्यस्तै, कुशल भुर्तेलले ५२ बलमा ६ चक्का प्रहार गर्दै ३५ रन बटुले। 

यसैगरी आरिफ शेखले ३३ रन जोड्दा ज्ञानेन्द्र मल्लले २६ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले १३ र सोमपाल कामीले १६ रन बनाए। यूएईका लागि रोहन मुस्ताफाले ३, हजरत बिलालले २ र बसिल अहमदले १ विकेट लिए। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो। युएईका वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

मध्य क्रमका ब्याटर अलिशन शराफुले ४३ बलमा ३ चौकासहित ३५ रन जोडे। वृत्य अरविन्दले २५ रन जोडे। बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ र विष्णु शुकुमारनले १५ रन बनाए। युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए।

करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए।