मुख्य प्रशिक्षक अल्मुताइरी र अफगानी फुटबल खेलाडीबीच मतभेद शुरू

खेलाडीले अल्मुताइरीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक स्वीकार नगर्ने बताएका छन्। उनले व्यक्तिगत फाइदाका लागि खेलाडी र राष्ट्रिय टोली प्रयोग गर्दै प्रायोजकसँग लेनदेन गर्ने गरेको उनीहरूको आरोप छ।

काठमाडौँ– अफगानिस्तान राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच मतभेद शुरू भएको छ।

विश्वकप २०२६ र एएफसी एशिया कप २०२७ क्वालिफायरअन्तर्गत दोस्रो लेगमा अफगानिस्तानले मंगलबार मंगोलियाको उलानबाटारस्थित एमएफएफ फुटबल सेन्टरमा घरेलु टोलीविरुद्ध खेलेको थियो। उक्त खेलमा मंगोलियालाई १-० गोलअन्तरले पराजित गर्दै अफगानिस्तान दोस्रो चरणमा पुगेको छ। तर, घरेलु मैदानमा भएको पहिलो लेगमा मंगोलियालाई १-० गोलअन्तरले नै पराजित गरेको टोलीलाई मंगलबार अल्मुताइरीले सम्हाल्न पाएनन्। खेलाडीहरूसँगको मतभेदपछि अफगानिस्तान फुटबल महासंघले दोस्रो लेगमा उनलाई निष्कासन गरेको थियो।

अफगानिस्तान फुटबल टोलीका मिडिया म्यानेजर फिरोज मशुफका अनुसार कप्तान फरशाद नूर, फैसल शेख र नूर हुसेनसहित अधिकांश खेलाडीले राष्ट्रिय टोलीको हालको स्तर अल्मुताइरीको भन्दा माथि रहेको भन्दै सोमबार उनलाई प्रशिक्षण सत्रमा उपस्थित हुन रोकेका थिए।

उनीहरूले अल्मुताइरीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा स्वीकार नगर्ने बताइसकेका छन्। मशुफका अनुसार आगामी दिनमा अल्मुताइरी टोलीको बेन्चमा बसेर महत्त्वपूर्ण खेलमा नेतृत्व नगरून् भन्ने चेतावनीसमेत खेलाडीहरूले महासंघलाई दिएका छन्।

के छ खेलाडीको आरोप?
मशुफका अनुसार खेलाडीहरूले अल्मुताइरीमाथि मुख्य चार आरोप लगाएका छन्। अल्मुताइरीले खेलाडीबीच विभाजन सिर्जना गर्न खोजेको र प्रशिक्षणको ज्ञान पनि कम रहेको उनीहरूको आरोप छ। राष्ट्रिय टोलीको खेलस्तर अल्मुताइरीले दिने प्रशिक्षणभन्दा माथि रहेको खेलाडीहरूले दाबी गरेका छन्।

अल्मुताइरीले व्यक्तिगत फाइदाका लागि खेलाडी र राष्ट्रिय टोली प्रयोग गर्दै प्रायोजकहरूसँग लेनदेन गर्ने गरेको आरोप पनि खेलाडीहरूको छ।

मशुफका अनुसार राष्ट्रिय टोलीका खेलाडीले अल्मुताइरीबारे महासंघमा पटक–पटक गुनासो गरिएको थियो। यद्यपि, महासंघले कदम नचालेको उनको भनाइ छ। अल्मुताइरीको तलब कतार फुटबल संघले तिर्दै आएको छ। उनले कतार फुटबल संघबाट मासिक १७ हजार डलर बुझ्ने गरेका छन्। अफगानिस्तान फुटबल महासंघले उनको व्यक्तिगत खर्च बेहोर्ने गर्छ। यद्यपि, अल्मुताइरीले खेलाडीले लगाएको आरोपबारे टिप्पणी गरेका छैनन्।

उनी यसअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक थिए। फिफा कतार विश्वकप २०२२ र एएफसी एशिया कप छनोटका लागि उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी कतार फुटबल संघको सहयोगमै नेपाल आएका थिए। साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउने लक्ष्यसहित उनी नेपाल आएका थिए। साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमै पहिलोपटक उनले नेपाली टोलीलाई उपविजेता बनाउँदै आफ्नो लक्ष्य पूरा गरेका थिए।

बलियो टोलीसँग मैत्रीपूर्ण खेल खेलाएर सन् २०२६ सम्म नेपाललाई एएफसी एशियन कपमा छनोट गराउने उनको अर्को लक्ष्य थियो। उनले आयुष घलान, दीप कार्की, मनीष डाँगीजस्ता खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु गराएका थिए।

उनले वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग मैत्रीपूर्ण खेल खेलाएर वाहवाही बटुलेका थिए। आफ्नो कार्यकालमा १९ खेल खेलाउँदा १२ हार, ५ जित र २ बराबरीको नतिजा निकालेका थिए। तर, खेलाडीसँगको मतभेद र नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको विवादका कारण उनको नेपाली राष्ट्रिय टोलीबाट बहिर्गमन भएको थियो।

अफगानिस्तानको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि उनले देशबाहिर रहेका खेलाडीहरूलाई समेटेर टोली बनाएका थिए। उनको प्रशिक्षणमा अफगानी टोलीले ६ खेल खेलेको थियो। जसमा १ जित, २ बराबरी र ३ हारको नतिजा निकालेको थियो। उनले नेपाल आउनुअघि किर्गिस्तान राष्ट्रिय यू–१७ फुटबल टोलीको नेतृत्व सम्हालेका थिए।