लिगलिगे दौडको उपाधि नेपाली सेनाका राईलाई

निर्धारित १३.८ किलोमिटर दुरी ५६:३६ मिनेटमा पार गर्दै उनले उपाधि जितेका हुन्। उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्। 

गोरखा– एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन्। निर्धारित १३.८ किलोमिटर दुरी ५६:३६ मिनेटमा पार गर्दै उनले उपाधि जितेका हुन्। उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्। 

प्रतियोगितामा निर्धारित दुरी ५६:५३ मिनेटमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भएका छन्। भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो भएका छन्। उनले निर्धारित दुरी ५८:३५ मिनेटमा पूरा गरेर तेस्रो भए। गोरखा र लमजुङको सीमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरू भएको दौड प्रतियोगिता ढिँकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ,सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङिगएको थियो। 

प्रतियोगितामा उपाधि विजेता राईले एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै दोस्रो भएका रावतले ५० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो हुन सफल थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले जानकारी दिए।

नेपाल एकीकरणअघिका बाइसे चौबिसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो। तत्कालीन समयमा दौडर राजा हुने परम्परालाई जोगाइ राख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ। लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको आयोजकले जनाएको छ। 

विसं १६०४ मा शुरू भएको मानिएको दौड प्रतियोगितालाई पुनः विसं २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले बताए। द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ।