राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार पुरस्कार

नेपालले विश्वकप छनोटको पहिलो चरणको खेलमा लाओसलाई समग्रमा २–१  गोलअन्तरले पराजित गरेको थियो।

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। 

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले बुधबार राति लाओसबाट फर्किएका खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पुरस्कार घोषणा गरेका हुन्। 

अध्यक्ष नेम्वाङले हाल एन्फा आर्थिक समस्यामा रहेको बताए। त्यसैले सानो पुरस्कार घोषणा गरेको उनको भनाइ छ।

''तपाईँहरू सबैलाई थाहा नै छ, एन्फा आर्थिक समस्यामा छ। त्यसैले हामीले दशैँको मुखमा सानो पुरस्कार घोषणा गरेका छौँ। पछि अन्य व्यवस्था त भइहाल्छ,'' उनले भने।

नेपालले पहिलो चरणको छनोट खेलमा लाओसलाई समग्रमा २–१  गोलअन्तरले पराजित गरेको थियो। दशरथ रंगशालामा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो भने लाओसमा भएको दोस्रो लेग नेपालले १–० ले जसतेको थियो।

नेपालले अब समूह ‘एच’मा यूएई, बहराइन र यमनसँग दोस्रो चरणको खेल खेल्नेछ। दोस्रो चरणका खेल नोभेम्बर–जुनसम्म ‘होम एन्ड अवे’ ढाँचामा खेलाइनेछन्।