करणको उत्कृष्ट बलिङमा नेपालले पायो ९५ रनको लक्ष्य

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको छ। नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए।

काठमाडौँ– करण केसीले उत्कृष्ट बलिङ गरेसँगै नेपालले टी–२० त्रिकोणात्मक श्रृखलाको दोस्रो खेलमा नेपालले ९५ रनको लक्ष्य पाएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको हो। हङकङले ३३ रन बनाउँदा नै ५ विकेट गुमाएको थियो। हङकङका कप्तान निजाकत खान गोल्डेन डकआउट भए। यस्तै, अंशुमन रथ ७, बाबर हायात ५, मार्टिन कोट्जी २ र अजिज खान ७ रनमा आउट भए।

त्यसपछि क्रिजमा आएका जिशन अली पनि ८ रन बनाउँदै आउट हुँदा हङकङ कमजोर स्थितिमा पुगेको थियो। तर, जिशान अलीले २० बलमा २ चौका प्रहार गर्दै हङकङको इनिङ्स उकास्ने प्रयास गरेका थिए। उनी पनि १७ रनमा आउट भए।

यता, यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाए। उनी १६.३ ओभरमा अभिनाष बोहराको बलमा कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट भए। जिशान अली हरुन अर्शद २ र यहसान खान ४ रनमा आउट हुँदा आयुश शुक्ला २ रनमा अविजित रहे।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामी र अभिनाष बोहराले २/२ विकेट लिँदा कुशल मल्ल र श्याम ढकालको नाममा १/१ विकेट रह्यो।