एसीसी यू–१९ प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपालले जापानसँग खेल्ने

फाइनल पुग्ने दुई टोलीले स्वतः आगामी डिसेम्बरमा पाकिस्तानमा हुने एशिया कपमा स्थान बनाउने छन्। तेस्रो स्थानमा रहने टोली पनि एशिया कपमा पुग्ने छन्।

काठमाडौँ– नेपालले एसीसी यू–१९ प्रिमियर कपको फाइनल प्रवेशका लागि जापानसँग खेल्ने भएको छ। शुक्रबार सम्पन्न खेलमा हङकङलाई डकवर्थ लेविस पद्धतिमा ५७ रनले पराजित गर्दै जापानले नेपालसँगको भेट पक्का गरेको हो। नेपाल बिहीबार सम्पन्न खेलमा साउदी अरबलाई ३०१ रनले पराजित गर्दै समूह ‘ए’को उपविजेता बनेर सेमिफाइनलमा पुगिसकेको थियो।

नेपालले समूह चरणमा बहराइनलाई ७ विकेट र इरानलाई २७४ रनले पराजित गरेको थियो। नेपालले अपराजित रहँदै ३ खेलमा ६ अंक जोड्यो। यता, जापान पनि समूह चरणको खेलमा अपराजित रह्यो। समूह ‘डी’मा रहेको जापानले मलेसियालाई डकवर्थ लेविस पद्धतिमा ६ रन र इन्डोनेसियालाई ९ विकेटले पराजित गरेको थियो। नेपाल र जापानबीचको सेमिफाइनल खेल शनिबार हुने छ।

दोस्रो सेमिफाइनल खेलमा यूएई र सिंगापुर भिड्ने भएका छन्। समूह ‘बी’मा रहेको यूएईले पहिलो खेलमा चीनलाई ९ विकेटले पराजित गरेको थियो। यस्तै, ओमानलाई ३ र कतारलाई १० विकेटले पराजित गर्दै यूएई समूह विजेता बनेको थियो।

यता, समूह ‘सी’मा रहेको सिंगापुर पनि अपराजित रहँदै सेमिफाइनल पुग्यो। सिंगापुरले पहिलो खेलमा माल्दिभ्सलाई १७८ रनले पराजित गर्‍यो। यस्तै, थाइल्यान्डलाई ९ र कुवेतलाई ५ विकेटले पराजित गर्दै सिंगापुर समूह विजेता बन्यो।

यूएई र सिंगापुरबीचको सेमिफाइनल खेल पनि शनिबार नै हुने छ। सेमिफाइनलमा जित हासिल गर्ने दुई टोली फाइनल प्रवेश गर्ने छन्। फाइनल पुग्ने दुई टोलीले स्वतः आगामी डिसेम्बरमा पाकिस्तानमा हुने एशिया कपमा स्थान बनाउने छन्। यस्तै, तेस्रो स्थानमा रहने एक टोली पनि एशिया कपमा पुग्ने छन्।

प्रिमियर कप विजेता र उपविजेताले समूह चरणमा पाकिस्तान र भारतसँग खेल्ने छन्। तेस्रो हुने टोलीले अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग खेल्ने छन्।