कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

नेपालका कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको योगदान दिए।

काठमाडौँ– कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले एसीसी टी–२० सिरिजमा हङकङलाई २१४ रनको लक्ष्य दिएको छ। 

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो। नेपालका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरे। उनले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए। 

दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ्स खेले। नेपालका आशिफ शेख २०, रोहितकुमार पौडेल ११, सोमपाल कामी ८ तथा कुशल भुर्तेल २ रनमा आउट भए।

हङकङका लागि मोहमद घजन्फ़रले २ तथा आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १–१ विकेट लिए।