एसीसी यू-१९ प्रिमियर कप: जापानलाई हराउँदै नेपाल फाइनलमा

नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भयो।

काठमाडौँ– जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एशिया कपमा स्थान बनाएको छ। 

वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भयो। फाइनलमा पुगेसँगै नेपाल यु-१९ एसिया कपमा छनौट भएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो। ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए। 

२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो। डिएल मेथडका आधारमा जापानले जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य पाएको थियो। स्पिनर दिपेश कँडेल र हेमन्त धामीले समान तीन विकेट लिए। नेपालले अब यूएईसँग फाइनल खेल्ने छ। नेपालको यू-१९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ।