यूएईलाई हराउँदै नेपालले जित्याे एसीसी यू-१९ कपको उपाधि

वर्षाका कारण खेल रोकिएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो। तर २६.४ ओभरमा १७८ रन बनाएर अलआउट भयो। 

काठमाडाैँ– नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ। मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई १९ रनले हराउँदै ऐतिहासिक जित हात पारेको हो। 

खेलका क्रममा वर्षा भएपछि नेपालले यूएईलाई डकवर्थ लेविस प्रणालीको आधारमा हराएको हो। जितको लागि २८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोखिएको थियो। त्यसपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो। तर २६.४ ओभरमा १७८ रन बनाएर अलआउट भयो। 

यूएईका ध्रुव पराशरले सर्वाधिक ५९ रन बनाए। कप्तान आयन खानले ३० तथा अर्यांस शर्माले ३२ रन बनाएका थिए। 

नेपालका कप्तान देव खनालले १०० रनको शतकीय इनिङ्स खेले। उनले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। उत्तम थापामगरले ६७ बलमा ४ चौका र १ छक्कासहित महत्वपूर्ण ५७ रन जोडे। ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए। दीपक डुम्रेले ३० बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए।

दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहे। यूएईका हरित शेठ्ठीले सर्वाधिक ५ तथा  कप्तान आयन खानले २ विकेट लिए।