पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चाेककाे पनाैती ‍कुशादेवीमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न फुलचाेकी एड्भेन्चर प्रालिले अनुमति पाएकाे छ।

फाइल फाेटाे

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाको कुशादेवी क्षेत्रमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउनमा स्थानीय फुलचाेकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको थियो।

उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ। प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान थाल्ने एड्भेन्चरका अध्यक्ष छविलाल हुमागाईंले बताए। “व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम गरिरहेको छ। सञ्चालन निर्देशन जारी भएलगत्तै उडान थाल्छौँ”, उनले भने।

उनका अनुसार मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिनेछ। तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो। त्यसबेला तीन दिनसम्म परीक्षण उडान गरिएको थियो। त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिक उडानका लागि परीक्षण गरिएको थियो। उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल रहेको उनको भनाइ छ।

हुमागाईंका अनुसार दैनिक १० उडान भर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म अनुमति पाएको छ। तोकिएको समयमा छ हजार ५०० फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने बताइएको छ। प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवाले अध्ययन गरिरहेको हुमागाईंले बताए। “यसबाट  स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको प्रचार हुनेछ”, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी भन्छन्, “कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा छ।”

प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान शुरू गरी कुशादेवीको बन्चरेटारमा अवतरण हुन्छ। गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरी चार किलोमिटर हो। प्याराग्लाइडिङको दूरी एक हजार ५० मिटर छ। उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार ३५० मिटर उचाइमा छ। पनौती नगरपालिकाले पनि साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ। यो वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङलगायत सञ्चालन गर्ने उल्लेख छ। नगरले चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साइक्लिङको सुरुआत गरेको थियो। फुलचोकीडाँडाबाट नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ रुट तय गरिएको छ। नगरको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका दुई सय राइडरले साइक्लिङ गरेका थिए।

यसैगरी नेपाल पर्यटन बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्री सार्वजनिक गरेको छ। नगर क्षेत्रमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल, साँगा–पनौती हाइक, गुर्दुम–महाभारत पदयात्रा चराको दृष्यावलोकन, योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग र जात्रा–मेला अवलोकन गर्न सकिने छ।