हङकङसित यूएई ६९ रनले पराजित

यूएईसँगको खेल जिते पनि रनरेटका आधारमा भने यूएई अगाडि भएकाले हङकङले फाइनलमा स्थान बनाउन सकेको छैन।

काठमाडौँ– टी–२० आई त्रिदेशीय क्रिकेट शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ।

बुधबार मुलपानी क्रिकेट रंगशालामा भएको खेलमा हङकङले दिएको २१३ रनको लक्ष पछ्याएको यूएईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो। यूएईका लागि खलिद शाहले ३५ रन, निलन केशवानीले ३१ र अलिशन शराफुले ३० रन बनाए। हङकङका बलर एहसान खान, आयुष शुक्ला, नसरुल्ला राणा र यासिम मुर्तजाले एक/एक विकेट लिए।

पहिले ब्याटिङ गरेको हङकङका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धसतकीय पाली खेले। ओपनर मार्टिन कोएट्जीले ८६ रन बनाए। बाबर हायातले पनि अविजित ६० रनको योगदान गरे। यस्तै, अन्शी राथले ४१ रन बनाए। यूएईका बलर निलान्स केशवानी, सन्चित शर्मा र अकिपफ राजाले एक/एक विकेट लिए।

बुधबारको खेलपछि अंक तालिकामा नेपाल पहिलो, यूएई दोस्रो र हङकङ तेस्रो स्थानमा छन्। लगातार चार खेल जितेको आयोजक राष्ट्र नेपाल ८ अंकसहित यसअघि नै फाइनलमा पुगिसकेको छ। चार खेल खेलेको यूएई २ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समान चार खेलबाट दुई अंक जोडेको हङकङ तेस्रो स्थानमा छ। तर नेट रन रेटमा यूएई हङकङभन्दा अगाडि छ। योसँगै यूएईले नेपालसँग फाइनल खेल्ने पक्का भएको छ।