विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलाे जित

अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। वान डे विश्वकप इतिहासमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो।

काठमाडाैँ– आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ठूलो रन अन्तरले जित दर्ता गरेको छ। दिल्लीमा बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। 

वान डे विश्वकप रनको इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको जित हो। यसअघि पनि अस्ट्रेलियाकै नाममा यो रेकर्ड थियो। सन् २०१५ को विश्वकपमा उसले अफगानिस्तानलाई २७५ रनले पराजित गरेको थियो।

अस्ट्रेलियाले २ जना खेलाडीको शतकका साथ नेदरल्याण्ड्सलाई ४०० रनको लक्ष्य दिएको थियो। पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर ३९९ रन बनायो। उसका लागि ओपनर डेभिड वार्नरले १०४ र ग्लेन म्याक्सवेलले १०६ रनको पारि खेले। ४० बलमा शतक पूरा गरेका म्याक्सवेलले विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमानी पनि कायम गरे।

अस्ट्रेलियाका स्टेभन स्मिथले ७१ रन बनाउँदा मार्नस लावुसेनले ६२ रन बनाएका थिए। नेदरल्याण्ड्सका लोगन भान विकले ४ विकेट र बास डी लिड्सले २ विकेट हात पारे। 

४०० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २१ ओभरमा ९० रनमात्रै बनाउन सक्यो। उसका लागि बिक्रमजित सिंहले सर्वाधिक २५ रन र तेजा निदमनरुले १४ रन बनाए। कप्तान स्कट एडवार्डले १२ रनको नटआउट पारि खेल्दा सेब्रान्ड इंगलव्रेचटले १० रन बनाउन सके। अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए। मिचेल मार्सले २ विकेट हात पारे।

यो जितसँगै अस्ट्रेलियाले पाँच खेलबाट छ अंक बटुल्दै सेमिफाइनलमा स्थान बलियो बनाएको छ। नेदरल्यान्ड्स भने दुई अंकमै सीमित रहेको छ।