युरोपेली च्याम्पियन्स लिगमा बार्सिलाेनाकाे लगातार तेस्राे जित

बार्सिलोनाले ३ खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै आफूलाई शीर्ष स्थानमा राखेको छ।

युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब सख्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो। यो जितसँगै समूह एचमा रहेको बार्सिलोनाले ३ खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै आफूलाई शीर्ष स्थानमा राखेको छ।

घरेलु मैदानमा बार्सिलोनाका फेरान टोरेसले २८औँ मिनेटमा र फिरमिनले ३६औँ मिनेटमा गोल गरे। दाेस्रो हाफमा ६२ औँ मिनेटमा सख्तरका लागि सुडोकोभले गोल फर्काएका थिए।

यही समूहमा रहेको पोर्चुगिज क्लब पोर्टोले बेल्जीयन क्लब रोयल एन्टरवेपलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। १ गोलले पछि परेको पोर्टोले उत्कृष्ट कमब्याक गर्दै फराकिलो जित दर्ता गरेको हो। पोर्टोको जितमा फान्सिस्को इभानिलसनले ह्याट्रिक गर्दा स्टेफन एन्टुनेसले एक गोल थपेका थिए। एन्टरवेपका लागि अलहसन युसुफले १ गोल गरे।

बुधबार रातिको खेलपछि बार्सिलोना ९ अंकका साथ शीर्ष स्थानमा रहँदा पोर्टो ६ अंकसहित दोस्रो स्थानमा तथा सख्तर डोनेस्क ३ अंकसहित तेस्रो स्थानमा रहेका छन्। एन्टरवेप भने शून्य अंकसहित पुछारमा छ।