युरोपा लिगमा मार्सेली र ब्राइटनको जित

यो खेलपछि समूहमा मार्सेलीले ३ खेलबाट ५ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ।

युरोपा लिग फुटबलमा फ्रान्सको मार्सेली विजयी भएको छ। बिहीबार राति भएको खेलमा ग्रीसको एइके एथेन्सलाई ३–१ गोल अन्तरले हराउँदै मार्सेली विजेता बनेको हो।

खेलको २७ औँ मिनेटमा मार्सेलीका भिटोर म्यानुएलले गोल गर्दै अग्रता दिलाएका थिए। ५३ औँ मिनेटमा ग्रीसका लागि ओरविलिन पिनेडाले बराबरी गोल गरे। खेलको ५७ औँ मिनेटमा रातो कार्ड पाउँदै गोलकिपर सिकान स्टानकोभिकले मैदान छाडेपछि ग्रीस दबाबमा आयो र दुई गोल व्यहोर्न पुग्यो। सोही रातो कार्डपछि पाएको पेनाल्टीको मार्सेलीले सदुपयोग गर्‍यो। मार्सेलीका अमाइन हारिटले पेनाल्टीमा गोल गरे। फेरि ६९ औँ मिनेटमा जार्डोनले अर्को गोल गरे।

यही समूह बीमा इंग्लिस क्लब ब्राइटनले नेदरल्याण्ड्सको अजाक्सलाई २–० गोल अन्तरले पराजित गरेको छ। ब्राइटनको जितमा जाओ पेड्रोले र अन्सु फातीले गोल गरेका थिए।

यो खेलपछि समूहमा मार्सेलीले ३ खेलबाट ५ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ। यसैगरी एइके एथेन्स ४ अंकका साथ दोस्रो स्थानमा रहँदा ब्राइटन पनि ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।