टी–२० शृंखला: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, विवेकको स्थानमा ललित खेल्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

काठमाडाैँ– घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले यसअघि यूएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको छ। उक्त खेल मुलपानीमा भएका थिए। नेपाल पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङलाई ७९ रन र अन्तिम खेलमा यूएईलाई ५ विकेटले हराएको थियो।

यूएईले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो। 

नेपालले यूएईसँगको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशी खेल्ने भएका छन्। ललित एशियाली खेलकुद प्रतियोगिता हुनुभन्दा अगाडि त्रिवि मैदानमा अभ्यास गर्ने क्रममा घाइते भएका थिए।