टी–२० शृंखला : नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उचाल्यो उपाधि

नेपालविरुद्ध रोमाञ्चक जित हासिल गर्दै यूएईले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि उचालेको छ।

काठमाडौँ– घरेलु टोली नेपालविरुद्ध रोमाञ्चक जित हासिल गर्दै यूएईले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि उचालेको छ।

शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले उपाधि उचालेको हो। नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल छँदै पूरा गर्‍यो।

यूएईलाई अन्तिम ओभरमा ७ रनको आवश्यक थियो। अन्तिम ओभरको पहिलो बलमा तीव्र गतिका बलर करण केसीले २ रन दिएका थिए। दोस्रो बल डट राखे। तेस्रो बल बसिल हामेदलाई पुनः १ रन दिए। चौथो बल वाइड दिए। चौथो बलमा आयन खानलाई १ रन दिँदा यूएई जित नजिक पुगेको थियो। अन्तिम बलमा बसिलले छक्का प्रहार गरे।

बसिलले अविजित रहँदै १६ बलमा २ छक्कासहित २२ रन प्रहार गरे। आयानले ३ बलमा १ चौकासहित ५ रन बनाए।

यूएईका ओपनर तथा कप्तान मोहम्मद वासिमले सर्वाधिक ४५ रन बनाए। उनले २२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर आर्यन शर्माले २६ बलमा २ चौकासहित २५ रन बनाए।

वृत्य अरविन्द २६, आशिफ खान ७ , अलि नासेर ११ र अलिशान शराफु १३ रनमा आउट भए।

नेपालका गुलशनकुमार झा र अभिनाष बोहराले २/२ विकेट लिए। कुशल मल्लको नाममा १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरी १५ बलमा १ चौका र १ छक्कासहित २० रन बनाएर पेभिलियन फर्किए। कप्तान रोहितकुमार पौडेलले १८ रन बनाउँदा तल्लोक्रमका करण केसीले अविजित रहँदै २३ रन बनाए।

आशिफ शेख ७, कुशल मल्ल १, सन्दीप जोरा १०, गुलशनकुमार झा ५ र सोमपाल कामी १३ रनमा आउट भए।

यूएईका आयान खनले सर्वाधिका ३ विकेट लिए। अली नासेर र जाहूर खानले २/२ विकेट लिँदा जुनेद सिद्दीकीको नाममा १ विकेट रह्यो।