विश्वकप क्रिकेट: अस्ट्रेलियासँग न्युजिल्यान्ड ५ रनले पराजित

अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ अन्तर्गत शनिबारको रोमाञ्चक खेलमा न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ।

भारतको धर्मशाला क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रन मात्र बनाउन सक्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ट्रेविस हेडले शतक प्रहार गरे भने वार्नरले ८१ रनको इनिङ्स खेले।

अस्ट्रेलियाको चुनौती पछ्याएको न्युजिल्यान्डले पनि राम्रो प्रदर्शन गरेको थियो। रजिन रवीन्द्रले शतक प्रहार गर्दा जिमी नीशमले ५८ रनको योगदान दिए। अन्तिम ओभरमा न्युजिल्यान्डको जित निश्चित जस्तै देखिए पनि अस्ट्रेलियाका खेलाडीले फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै खेल जिते।

जितपछि अंक तालिकामा अस्ट्रेलिया ८ अंकसहित चौथो स्थानमा छ। न्युजिल्यान्ड पनि समान ८ अंकसहित तेस्रो स्थानमा छ।