टी–२० विश्वकप एशिया छनोट, सोमबार नेपालले सिंगापुरसँग खेल्दै

प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछन्। समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेल सिंगापुरसँग खेल्नेछ।

काठमाडौँ– आईसीसी टी–२० विश्वकप एशिया छनोटका फाइनल खेल सोमबारदेखि काठमाडौंमा शुरू हुँदैछ। प्रतियोगितामा नेपालसहित एशियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछन्। समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेल सिंगापुरसँग खेल्नेछ। यो खेल कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरू हुनेछ। 

समूह 'ए'अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल पनि टीयू मैदानमै दिउँसो सवा १ बजे शुरू हुनेछ।

यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे र समूह 'बी' कै अर्का दुई टोली हङकङ र कुवेतबीचको खेल पनि दिउँसो सवा १ बजे मुलपानीमा नै आयोजना हुनेछ। १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।

घरेलु मैदानमा हुने छनौट खेलमा शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर पाएको नेपालले मौकाको सदुपयोग गरी उम्दा प्रर्दशनमार्फत विश्वकप पुग्ने लक्ष्य पूरा हुनेगरी आज प्रर्दशन गर्नुपर्ने देखिन्छ। दोस्रो खेलमा नेपालले मंगलबार मलेसिया र १६ गते बिहीबार ओमानसँग खेल्नेछ ।