नेपालले पायो १४६ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

काठमाडाैँ– आईसीसी टी–२० विश्वकप एशिया छनोटको पहिलो खेलमा सिंगापुरले घरेलु टोली नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

नेपालले शुरूआत राम्रो गरेको थियो। पहिलो ओभरको दोस्रो बलमै करण केसीले कप्तान आरित्र दत्तलाई बोल्ड गरेका थिए। उनी गोल्डेन डकआउट भए। त्यसपछि सिंगापुरको इनिङ्स रोहन रंगाराजन र सुरेन्द्रन चन्द्रमोहनले उकासेका थिए। उनीहरूले दोस्रो विकेटका लागि ५२ रनको अर्धशतकीय साझेदारी गरे। तर, सुरेन्द्रन सातौँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेबाट बोल्ड भए। उनले १० बलमा ६ रन जोडे।

आठौँ ओभरको पहिलो बलमा गुलशनकुमार झाले रोहनलाई सन्दीप जोराबाट स्क्वायर लेगमा क्याच गराए। रोहनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए। रोहन आउट भएपछि सिंगापुर सम्हालिन सकेन। गुलशनले फ्याँकेको आठौँ ओभरको पाँचौँ बलमा अमर्त्य कउल उनैबाट क्याच हुँदै गोल्डेन डकआउट भए।

११औँ ओभरको दोस्रो बलमा सन्दीपले जनक प्रकाशलाई एलबीडब्यू आउट गरे। उनले ७ बलमा १ चौकासहित ७ रन बनाए। १७औँ ओभरको तेस्रो बलमा मनप्रीत सिंह अफ साइड स्वीपरमा कप्तान रोहितकुमार पौडेलबाट २४ रनमा आउट भए। करणको बलमा आउट हुनुभन्दा अगाडी उनले २६ बलमा ३ चौका प्रहार गरे।

मनप्रीतले आर्यवीर चौधरीसँग छैठौँ विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। १८औँ ओभरको दोस्रो बलमा थिलिपन ओमाईडुराई थर्ड म्यानमा रहेका सन्दीप जोराबाट क्याच आउट भए। अविनाश बोहोराबाट आउट हुनुअघि उनले ४ बलमा १ रन बनाए। सोही ओभरको चौथो बलमा स्लिपनजिक अनन्थ कृष्ण रोहितबाट क्याच भए। उनी अविनाशकै बलमा गोल्डेक डकआउट भए।

२०औँ ओभरको तेस्रो बलमा आर्यबीर चौधरी अफ साइड स्क्वायरमा करण केसीबाट क्याच आउट भए। अविनासको बलमा आएट हुनुअघि उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाए।

अक्षय पुरी ७ बलमा १ चौका र १ छक्कासहित १३ र कालिमुथु रमेश १ बलमा १ रन बनाउँदै अविजित रहे। 

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ४३ रन खर्चिए। करण केसी, सन्दीप लामिछाने र गुलशनकुमार झाले २/२ विकेट लिए। सोमपाल कामी भने विकेटविहीन रहे।