टी–२० आईमा कुशलले भेटे दीपेन्द्रको सर्वाधिक अर्धशतकको कीर्तिमान

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिंगापुरविरुद्धको खेलमा उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। 

काठमाडाैँ– आईसीसी टी–२० विश्वकप एशिया छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिंगापुरविरुद्धको खेलमा उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। 

भुर्तेलको टी–२०आई मा यो सातौँ अर्धशतक हो। उनले २५ इनिङ्समा सातौँ अर्धशतक प्रहार गरेका हुन्। उनले १७ अप्रिल २०२१ मा कीर्तिपुरमा भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मेलित त्रिकोणात्मक टी–२० आई सिरिजमा डेब्यु गरेका थिए। उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमै ६२ रनको इनिङ्स खेलेका थिए। त्यसपछि उनले दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्स ६२ रनको इनिङ्स खेलेका थिए। फाइनलमा उनले नेदरल्यान्ड्सविरुद्ध ७७ रनको इनिङ्स खेल्दै नेपाललाई उपाधि दिलाएका थिए।

२४ फ्रेबुअरी २०२२ मा ओमानमा भएको टी २० विश्वकप छनोटमा घरेलु टोलीविरुद्ध उनले अविजित रहँदै  ५५ रन बनाएका थिए। यस्तै, गत हप्ता कीर्तिपुरमै भएको त्रिकोणात्मक टी–२०आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध ५० रन बनाएका थिए। 

योसँगै उनले दीपेन्द्रसिंह ऐरीको सर्वाधिक अर्धशतक प्रहार गर्ने कीर्तिमान बराबरी गरेका छन्। ऐरीले ४६ इनिङ्समा ७ अर्धशतक प्रहार गरेका छन्। उनीबाहेक पूर्वकप्तान पारस खड्का र कप्तान रोहितकुमार पौडेलले ४/४ अर्धशतक प्रहार गरेका छन्।