मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरी आईसीसी टी२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौँ– मलेसियाविरुद्ध कीर्तिमानी जित हात पार्दै नेपाल आईसीसी टी२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालले भेटाएको यो नै उच्च स्कोर हो। गत सोमबार मूलपानीमा सम्पन्न त्रिकोणात्मक टी२०आई सिरिजमा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याउँदै नेपालले ५ विकेटको जित हात पारेको थियो।

मंगलबार मलेसियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आशिफ सेखले छैटौँ ओभरसम्म ४९ रनको साझेदारी गर्दै नेपाललाई राम्रो शुरूआत दिलाएका थिए। तर, कुशल छैटौँ ओभरको तेस्रो बलमा सर्विन मुनिएन्डीबाट डाउन्ड द ग्राउन्ड क्याच आउट भए। कुशलले आउट हुनुपूर्व २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन बनाए। ५.२ ओभरमा १–४९ को स्थितिमा रहेको नेपालको इनिङ्स त्यसपछि कुशल मल्ल र आशिफले उकासेका थिए। दोस्रो विकेटका लागि उनीहरूले ६९ रनको साझेदारी गरे। आशिफ मोहम्मद अमिरको बलमा क्याच आउट भए। उनले २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन प्रहार गरे।

कप्तान रोहितकुमार पौडेल १४औँ ओभरको पाँचौँ बलमा २ रनमा आउट भए। १७औँ ओभरको पाँचौँ बलमा कुशल मल्ल पनि मोहम्मद अमिरको बलमा क्याच आउट भए। उनले ३४ बलमा २ चौका र ७ छक्कासहित ६५ रन बनाए।

सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ रन बनाउँदै अविजित रहे। यता, विवेक यादव २ रनमा अविजित रहे।

कुशलको तेस्रो अर्धशतक
कुशल मल्लले आफ्नो टी२०आई करिअरमा तेस्रो अर्धशतक पूरा गरेका छन्। २७ सेप्टेम्बर २०१९ मा जिम्बावेविरुद्ध डेब्यू गरेका उनले २४ इनिङ्समा तेस्रो अर्धशतक पूरा गरेका हुन्। उनले २४ अप्रिल २०२१ मा कीर्तिपुरमा भएको त्रिकोणात्मक टी२०आई सिरिजमा नेदरल्यान्ड्सविरुद्ध २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै पहिलो अर्धशतक बनाएका थिए। गत हप्ता सम्पन्न त्रिकोणात्मक टी२०आई सिरिजमा हङकङविरुद्ध ४१ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै ९२ रन बनाएका थिए।

मंगलबार मलेसियाविरुद्ध उनले २६ बलमा १ चौका ६ छक्कासहित ५२ रन प्रहार गर्दै अर्धशतक पूरा गरे।

सैयदको अर्धशतकमा मलेसियाको १६५ रन

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो।

मलेसियाका लागि ओपनर सैयद अजिज सैयद मुबारकले सर्वाधिक ४९ बलमा ८ चौका र २ छक्कासहित ६८ रन प्रहार गरे। २ जुन २०१९ मा थाइल्यान्डविरुद्धको टी२०आई खेलमा डेब्यू गरेका उनको यो १३औँ अर्धशतक हो। उनले ६५ इनिङ्समा १३औँ अर्धशतक प्रहार गरेका हुन्। उनले गत असोजमा चीनमा सम्पन्न भएको एशियाली खेलकुदमा थाइल्यान्डविरुद्ध ५६ बलमा १३ चौका र ९ छक्कासहित १२६ रनको शतकीय इनिङ्स खेलेका थिए।

अन्यको फितलो प्रदर्शन
सैयदबाहेक मलेसियाका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। सैयद र जुबैदी जुल्किफ्लेले मलेसियाका लागि राम्रो शुरूआत गरेका थिए। शुरूआती ३ ओभरमै मलेसियाले ३६ रन बनाइसकेको थियो। यद्यपि, चौँथो ओभरको तेस्रो बलमा जुबैदीले जीवनदान पाए। उनले प्रहार गरेको बललाई अफ साइडमा रहेका कप्तान रोहितकुमार पौडेलले क्याच मिस गरे।

यद्यपि, छैठौँ ओभरको पाँचौँ बलमा उनी कुशल मल्लबाट अफ साइडमा क्याच आउट भए। अविनास बोहराको बलमा उनी आउट भएका हन्। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए। उनी र सैयदले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। त्यसपछि कृजमा आएका अन्य ब्याटरको प्रदर्शन भने फितलो रह्यो।

तेस्रो नम्बरमा उत्रिएका कप्तान अहमद फैज सातौँ ओभरको अन्तिम बलमा रन आउट भए। आउट साइड लेगमा गएको बलमा दुई रन लिने प्रयास गर्दा उनलाई करण केसीले आउट बनाए। उनले ४ बलमा ३  रन प्रहार गरे।

११औँ ओभरको पहिलो बलमा बीरन्दीप सिंह सन्दीप लामिछानेको बलमा एलबीडब्यू आउट भए। उनले ८ बलमा ४ रन बनाए।

१४औँ ओभरको अन्तिम बलमा सर्विन मुनिएन्डी रोहितको बलमा क्याच आउट भए। १२ बलमा २ चौकासहित १३ रन प्रहार गरेका उनले चौँथो विकेटका लागि सैयदसँग ३४ रनको साझेदारी गरे।

सैयद पनि १५औँ ओभरको चौँथो बलमा कुशल भुर्तेलबाट स्क्वायरमा क्याच आउट भए। उनी गुलशनकुमार झाको बलमा आउट भएका हुन्। त्यसपछि मलेसियाको विकेट पतन कायमै रह्यो।

मलेसियाका ऐनूल हाफिज १६औँ ओभरको चौँथो बलमा गुलशनबाट रन आउट भए। प्वइन्टमा गएको बलमा तेस्रो रन लिने क्रममा उनी रन आउट हुन पुगेका हुन्। उनले ४ बलमा ३ रन जोडे।

यता, मोहम्मद अमिर ७ बलमा १ चौका प्रहार गर्दै ८ रनमा इन साइड एज लागेर अविनाशको बलमा बोल्ड भए। स्याजरुल इद्रुस अविनाशको बलमा कुशल भुर्तेलबाट ७ रनमै आउट भए।

२०औँ ओभरको अन्तिम बलमा फित्री शाम ६ रनमा आउट भए। विजयी उन्नी १३ बलमा १ चौका प्रहार गर्दै १३ रनमा अविजित रहे।

अविनाश बोहराले ४ विकेट लिँदा सन्दीप लामिछाने, गुलशनकुमार झा र रोहितकुमार पौडेलको नाममा १/१ विकेट रह्यो।

समूह ‘ए’ मा नेपालले २ खेलबाट ४ अंक जोडेको छ। ओमानको पनि समान खेलबाट ४ अंक भएको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। यता, ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।

अंकविहीन रहेका मलेसिया र सिंगापुर एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन्। नेपालले समूह चरणको अन्तिम खेल ओमानसँग खेल्ने छ।