विश्वकप क्रिकेट: पाकिस्तानसँग बंगलादेश ७ विकेटले पराजित

छैटौँ पराजयसँगै दुई अंक जोडेर नवौँ स्थानमा रहेको बंगालदेशको सेमिफाइनल सम्भावना समाप्त भएको छ। 

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले बंगलादेलाई सात विकेटले हराएको छ। मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले दिएको २०५ रनको लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर भेटायो।

जितसँगै सात खेलमा ६ अंक जोडेको पाकिस्तान पाँचौँ स्थानमा उक्लिएको छ। छैटौँ पराजयसँगै दुई अंक जोडेर नवौँ स्थानमा रहेको बंगालदेशको सेमिफाइनल सम्भावना समाप्त भएको छ। 

पाकिस्तानका लागि फखर जमानले ७४ बलमा सात छक्का र तीन चौकासहित सर्वाधिक ८१ रन बनाए। यसैगरी अब्दुला शफिकले ६९ बलमा नौ चौका र दुई छक्कासहित ६८, मोहम्म रिजवानले अविजित २६ र इफ्तिखर अहमदले अविजित १७ रन जोडे। बलिङतर्फ बंगलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिए।

कोलकातास्थित इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको बंगलादेश ४५.१ ओभरमा २०४ रनमा अलआउट भयो। बंगलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए। यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए। बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिएका थिए।