बिहीबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएसँगै यूएईसँग भिड्ने पक्का भएको हो।
काठमाडाैँ– नेपालले आईसीसी टी–२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा यूएईसँग खेल्ने भएको छ। बिहीबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएसँगै यूएईसँग भिड्ने पक्का भएको हो।
नेपालले तीन खेलबाट ४ अंक बनायो। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा पुगेको थियो।
यता, ओमान समूह 'ए' मा अपराजित रह्यो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। समूह 'बी' मा यूएई अपराजित रह्यो। यूएईले कुवेत र बहराइनलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गर्यो। यता, ओमानको प्रतिस्पर्धी पनि बिहीबार नै टुंगो लाग्ने छ।
समूह 'बी'मा केहीबेर पछि बहराइन र कुवेत भिड्दै छन्। बहराइन र हङकङको समान २ अंक रहेको छ। कुवेत भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
बिहीबार ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो। नेपालका लागि विवेककुमार यादवले सर्वाधिक ३९ रन बनाए। यसबाहेक कुशल भुर्तेलले २६ रन बनाउँदा करण केसी १५ रनमा अविजित रहे।
ओमानका बलरसामु नेपाली ब्याटर निरीह
जवाफी ब्याटिङमा उत्रिएको नेपालले शुरूआत राम्रो गर्न सकेन। तेस्रो ओभरको पहिलो बलमै ओपनर आशिफ सेख ८ बलमा १ चौका प्रहार गर्दै ५ रनमा पेभिलियन फर्किए। उनले दोस्रो ओभरको पाँचौँ बलमा मेहरान खानबाट ४ रनमा जीवनदान पाएका थिए। कलीमुल्लाह खानको बललाई अफ साइडमा खेल्ने प्रयास गर्दा बलले उचाइको थियो। तर, मेहरानले उक्त बललाई समात्न सकेनन्। तेस्रो ओभरको पहिलो बलमा आशिफ बिलाल खानबाट कट एन्ड बोल्ड भए। उनले ८ बलमा १ चौकासहित ५ रन बनाए।
चौथो ओभरको पाँचौँ बलमा ब्याक बिहाइन्ड स्क्वायरमा काश्यप प्रजापतीबाट सोमपाल कामीले ४ रनमा जीवनदान पाए। पाँचौँ ओभरको अन्तिम बलमा सोमपाल आउट साइड अफ स्टम्पमा खेल्ने क्रममा काश्यपबाट क्याच आउट भए। शकील अहमदको बलमा आउट हुनुपूर्व सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए। छैटौँ ओभरको पाँचौँ बलमा ओपनर कुशल भुर्तेल बोल्ड भए। मेहरानले फ्याँकेको बलमा स्वीप प्रहार गर्ने क्रममा उनी १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रनमा आउट भए। पहिलो पावर प्लेमा नेपालले ४६ रन बनाउँदा ३ विकेट गुमायो।
नवौँ ओभरको पहिलो बलमा अकीव इलियासको बललाई कट गर्न खोज्दा कप्तान रोहितकुमार पौडेल पनि १२ रनमा बोल्ड भए। उनले १२ बल खेले।
मलेसियाविरुद्ध ३४ बलमा २ चौका र ७ छक्कासहित ६५ रनको इनिङ्स खेल्दै जित दिलाएका कुशल मल्ल पनि ओमानका बलरसामू निरिह देखिए। उनी १२औँ ओभरको पहिलो बलमा १० रनमा कलीमुल्लाहबाट सिधा क्याच आउट भए। उनलाई मेहरानले आउट गराए। १३औँ ओभरको चौथो बलमा गुलशनकुमार झा ५ बलमा ३ रन बनाएर खेलिरहँदा फरवार्डमा ओमानका कप्तान जिशान मुक्शूदबाट क्याच आउट भए। उनलाई अकीवले आउट गराए।
सन्दीप जोरा एज लागेर १६ बलमा १ छक्कासहित १२ रन बनाउँदै पेभिलियन फर्किए। यता, तल्लोक्रमका सन्दीप लामिछाने २ रनमा स्टम्पिङ भए।
विवेक र करणको अर्धशतकीय साझेदारी
नवौँ विकेटका लागि विवेककुमार यादव र करण केसीले अर्धशतकीय साझेदारी गरे। १५.४ ओभरमा ८-८५ को स्थितिमा रहेको नेपालको इनिङ्स उकास्दै विवेक र करणले १९.४ ओभरमा ९-१३९ को स्थितमा पुर्याएका थिए। विवेक २० ओभरको चौथो बलमा एज लागेर आयन खानबाट ३९ रनमा आउट भए। २०औँ ओभरको पहिलो बलमा विवेकले छक्का प्रहार गरे। दोस्रो बल वाइड भएको थियो। तेस्रो बलमा विवेकले पुनस् छक्का प्रहार गरे। तेस्रो बलमा पनि विवेकले सिधा छक्का प्रहार गरे। यद्यपि चौथो बलमा उनी आउट भए।
ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए। शकीब अहमद, मेहरान खान र अकीव इलियासले २र२ विकेट लिए। जिशान मक्शूदको नाममा १ विकेट रह्यो।
ओमानको १४५ रन
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायो।
ओमानका लागि कप्तान जिशान मक्शूदले सर्वाधिक ३२ रन बनाए। उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरे। शकील १६ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए। बिलाल खान एक बल खेल्दै अविजित रहे।
नेपालविरुद्ध ओमानले खराब शुरूआत गरेको थियो। ओमानले पहिलो पावर प्लेमा ४३ रन बनाउँदै ४ विकेट गुमायो। पहिलो पाँचौँ बलमै ओपनर काश्यप प्रजापती ५ बलमा २ चौकासहित ८ रन प्रहार गर्दै आउट भए। करणले फ्याँकेको बलमा उनी एज लागेर विकेटकिपर आशिफ सेखबाट प्रजापती आउट भएका हुन्। चौथौँ ओभरको पहिलो बलमा सोमपाल कामीले अकीव इलियासलाई २ रनमा बोल्ड गरे।
सोही ओभरको तेस्रो बलमा प्रतीक अथाभालेलाई व्यक्तिगत ८ रनमा जीवनदान दिए। सोमपालले फ्याँकेको बललाई अफ साइडमा खेल्न खोज्दा हावामा रहेको बललाई कप्तान रोहितकुमार पौडेलले एक हातले समात्न खोजेका थिए। तर, उनले मिस गरे। सोही ओभरको अन्तिम बलमा प्रतीकले पुनस् जीवनदान पाए। गुलशनकुमार झाको स्थानमा मैदान छिरेका प्रतीक जीसीले अफ साइडमा आएको बललाई मिस गरे।
पाँचौँ ओभरको अन्तिम बलमा प्रतीक १८ बलमा २ चौका र १ छक्कासहित २४ रन प्रहार गर्दै रोहितबाट अफ साइडमा क्याच आउट भए। उनी गुलशनको बलमा आउट भएका हुन्।
छैटौँ ओभरको पाँचौँ बलमा सोयब खान सोमपालबाट बोल्ड हुँदै गोल्डेन डकआउट भए। ५.४ ओभरमा ४-३८ को स्थितिमा रहेको ओमानको इनिङ्स कप्तान जिशान मक्शूद र आयन खानले अगाडी बढाएका थिए। उनीहरूले पाँचौँ विकेटका लागि ४९ रनको साझेदारी गरे। आयन १४औँ ओभरको पहिलो बलमा २५ बलमा २ चौकासहित १८ रन बनाउँदै सन्दीप लामिछानेबाट बोल्ड भए। दोस्रो बलमा सन्दीपबाट मेहरान खान गोल्डेन डकआउट भए। सन्दीप ह्याट्रिक लिन भने चुके। तेस्रो बलमा नसिम खुशीले स्वीप प्रहार गर्दै स्क्वायरमा चौका प्रहार गर्दिए।
१५औँ ओभरको चौथो बलमा आउट साइड एज लागेर कप्तान मक्शूद आशिफबाट क्याच आउट भए। अविनाश बोहराको बलमा आउट हुनुपूर्व उनले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन प्रहार गरे। मक्शूदले खुसीसँग सातौँ विकेटका लागि १३ रनको साझेदारी गरे। १८औँ ओभरको तेस्रो बलमा करण केसीले खुसीलाई प्वाइन्टमा सन्दीपबाट क्याच आउट गराए। उनले १४ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए। उनले आठौँ विकेटका लागि शकील अहमदसँग १८ रनको साझेदारी गरे।
२०औँ ओभरको तेस्रो बलमा कलीमुल्लाह खान सोमपालबाट क्याच आउट भए। उनले ६ बलमा ५ रन बनाए।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। ४ ओभरमा उनले ३८ रन खर्चिए। सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए। गुलशनकुमार झा र अविनाश बोहराको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
