नेपाल र यूएईबीचको खेल घरबाटै हेर्न दर्शकलाई क्यानको आग्रह

क्यानले निकालेको सूचनामा मूलपानी क्रिकेट मैदानमा दर्शक क्षमता कम रहेको कारण देखाउँदै सेमिफाइनल घरमै बसेर हेर्न दर्शक तथा अथितिलाई आग्रह गरिएको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी२० विश्वकप फाइनल एशिया छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र यूएईबीचको खेल घरमै बसेर हेर्न दर्शकलाई आग्रह गरेको छ।

क्यानले बिहीबार जारी गरेको सूचनामा मूलपानी क्रिकेट मैदानमा दर्शक क्षमता कम रहेको कारण देखाउँदै सेमिफाइनल घरमै बसेर हेर्न दर्शक तथा अथितिलाई आग्रह गरिएको छ। अतिथिलाई समेत सेमिफाइनल खेल हेर्न पास वितरण नगरिने क्यानले सूचनामा जनाएको छ।

“सम्पूर्ण दर्शकहरूलाई नेपाल र यूएईबीच हुने सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्नुहुन हामी हार्दिक अनुरोध गर्दछौँ। साथै, नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिज्यूहरूलाई समेत मूलपानी मैदान हुने सेमिफाइनल खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हामी हार्दिक अनुरोध गर्दछौँ," क्यानले सूचनामा भनेको छ।

क्यानका अनुसार नेपाल र यूएईबीचको सेमिफाइनल हेर्न ३ हजार ५०० टिकट मात्रै अनलाइनबाट बिक्री हुने छ। मैदानमा टिकट बुथ राखिने छैन। बिहीबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएसँगै नेपालले सेमिफाइनलमा यूएईसँग भिड्ने पक्का भएको हो।

नेपालले तीन खेलबाट ४ अंक बनायो। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा पुगेको थियो।

ओमान समूह 'ए' मा अपराजित रह्यो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। समूह 'बी' मा यूएई अपराजित रह्यो। यूएईले कुवेत र बहराइनलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गर्‍यो। क्यानसचिव पारस खड्काका अनुसार समूह 'ए'को विजेता र समूह 'बी'को उपविजेताले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान खेल्ने प्रतियोगिताअघि नै तय भएको थियो। यस्तै, समूह 'बी'को विजेता र समूह 'ए' को उपविजेताले भने मूलपानी मैदानमा खेल्ने तय थियो।

समूह 'बी'बाट यूएईसँगै बहराइन सेमिफाइनलमा पुगेको छ। बहराइन समूह चरणको अन्तिम खेलमा कुवेतसँग ४ विकेटले पराजित भए पनि नेटरनरेटका आधारमा ओमानसँगको भेट पक्का गर्‍यो।