संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

वैशाख २४ गतेबाट शुरू भएको संसद् अधिवेशन बजेटसँग सम्बन्धितबाहेक एउटा विधेयक पारित गरेर अन्त्य भएको छ।

काठमाडौँ– संघीय संसद्को वर्षे अधिवेशन अन्त्य भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य हुने घोषणा गरेका हुन्। 

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशनको अन्त्य हुने जानकारी दिएको छ। 

गत वैशाख २४ गतेबाट शुरू भएको अधिवेशन बजेटसँग सम्बन्धितबाहेक एउटा विधेयक पारित गरेर अन्त्य हुन लागेको हो।

सरकारले गत असोज मसान्तमै वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरे पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण र संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भएपछि जारी राखिएको थियो।