यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य, वृत्य अरविन्दको अर्धशतक

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको छ। 

काठमाडौँ– वृत्य अरविन्दको अर्धशतकप्रेरित यूएईले आईसीसी टी–२० आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा नेपाललाई १३५ रनको लक्ष्य दिएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको हो। 

यूएईका वृत्यले सर्वाधिक ६४  रन बनाए। उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

वृत्यको पाँचौँ अर्धशतक
विकेटकिपर तथा ब्याटर वृत्यले पाँचौँ अर्धशतक पूरा गरेका छन्। २३ फेब्रुअरी २०२० मा इरानविरुद्ध डेब्यू गरेका उनले ४० इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन्। उनले नेपालविरुद्ध ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५३ रन प्रहार गरेका थिए। उनले यसअघि आयरल्यान्डविरुद्ध २ र बहराइनविरुद्ध १ अर्धशतक प्रहार गरेका थिए। उनी २०औँ ओभरको पहिलो बलमा गुशलनकुमार झाबाट क्याच आउट भए।

अन्य ब्याटरको फितलो प्रदर्शन

यूएईका ओपनरद्वय मोहम्द वासिम र खालिद शाहले राम्रो शुरूआत गरेका थिए। उनीहरूले शुरूआती ३ ओभरमा २९ रन बनाएका थिए। यद्यपि, चौँथो ओभरको पहिलो बलमा नन स्ट्राइकमा रहेका रहेका खालिद रन लिने क्रममा बलर सोमपाल कामीबाट आउट भए। उनले ४ बलमा ३ रन मात्रै बनाए। सोही ओभरको चौँथो बलमा कप्तान वासिम पनि आउट भए। आउट साइड लेगमा आएको बललाई प्रहार गर्ने क्रममा उनी ब्याक बिहाइन्ड स्क्वायरमा करण केसीबाट क्याच आउट भए। उनले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।

३.४ ओभरमा २-३० को स्थितिमा रहेको अवस्थामा यूएईको इनिङ्स वृत्य अरविन्द र आशिफ खानले उकास्ने प्रयास गरेका थिए। उनीहरूले तेस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

तर, १०औँ ओभरको अन्तिम बलमा सन्दीपबाट आशिफ आउट भए। १४ बलमा १ चौकासहित १३ रन प्रहार गरेका उनी सन्दीप लामिछानेबाट एडबीडब्यू आउट भएका हुन्। सन्दीपले फ्याँकेको बल उनको प्याडमा लागेको थियो। 

१४औँ ओभरको चौँथो बलमा अलिशान शराफू पनि क्याच आउट भए। उनले १४ बलमा ३ चौकासहित १६ रन प्रहार गरे। उनी र वृत्यबीच चौँथो विकेटका लागि २६ रनको साझेदारी भएको थियो। कुशल मल्लको बलमा शराफू डाउन्ड द ग्राउन्डमा सोमपाल कामीबाट क्याच आउट भएका हुन्।

१५औँ ओभरको पाँचौँ बलमा अली नासेर पनि क्याच आउट भए। उनी रोहितको बलमा डिप एक्स्ट्रा कभरमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्। उनले ७ बलमा ४ रन मात्रै बनाउन सके।

यूएईका मिडिल अर्डर ब्याटर बसिल हम्मेद एक रनमा क्याच आउट भए। सन्दीपले फ्याँकेको बललाई उनले डिप फरवार्डमा प्रहार गरेका थिए। यद्यपि, गुलशनले क्याच गरे।

आयन खान १ र जुनेद सिद्दिकी ३ रनमा आउट हुँदा निलन्स केशवानी अविजित रहे।

नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। सन्दीप लामिछानेले २ विकेट लिँदा रोहितकुमार पौडेल र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो