क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

काठमाडौँ– विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ।

तीन प्रतियोगिताको पूर्वघोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लूसी– एशिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो।

सदस्य–सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एशिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाई दिँदै फाइनलमा सफलताका लागि शुभकामना दिए।