भूकम्पमा घाइते भएकाको उपचारमा रगत अभाव हुन नदिन रक्तदान अभियान

बाँकेका अस्पतालमा उपचाररत घाइतेको उपचारका क्रममा आवश्यक पर्ने रगत अभाव हुनसक्ने आकलन गर्दै नेपालगन्जका युवाले स्वतःस्फूर्त रक्तदान अभियान चलाएका छन्।

काठमाडौँ– जाजरकोट भूकम्पमा परी घाइत भएकाको उपचारमा रगत अभाव हुन नदिन बाँकेको नेपालगन्जमा रक्तदान अभियान चलाइएको छ। भूकम्पपीडितको उपचारका क्रममा रगत अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालगन्जका युवाले स्वतःस्फूर्त रक्तदान अभियान चलाएका हुन्।

साइक्लिस्ट गगन थापालगायतका युवाहरूले शुरू गरेको यो अभियानमा शनिबार दिउँसोसम्म ५० जनाभन्दा बढी रक्तदाताले रक्तदान गरेका छन्। अन्य व्यक्तिले पनि रक्तदान गर्ने क्रम जारी रहेको यो अभियानका एक सदस्य ऋषि पोखरेलले जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मानव तथा भौतिक क्षति भएको छ। सो भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारका लागि सुर्खेत र बाँकेका अस्पतालमा पनि ल्याइएको छ।

बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले भूकम्पमा परी घाइते भएकाहरूको उपचार गरिरहेका छन्। त्यहाँ उपचाररत घाइतेलाई उपचारका क्रममा आवश्यक पर्ने रगत अभाव हुनसक्ने आकलन गर्दै नेपालगन्जका युवाले स्वतःस्फूर्त रक्तदान अभियान चलाएका हुन्।

भेरी अस्पतालका अनुसार अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये एक जनाको मृत्यु भएको छ भने थप दुई जनाको अवस्था गम्भीर छ।अस्पतालमा रुकुम पश्चिम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका २७ जना बिरामीको उपचार भइरहेको र बिरामी आउने क्रम जारी रहेको अस्पतालले जनाएको छ।