विश्वकप छनोट: उपाधिका लागि नेपाल र ओमान भिड्दै

नेपाल क्रिकेट संघले फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ। 

काठमाडौँ– आईसीसी टी२० विश्वकप एशिया क्षेत्र छनोटको फाइनलमा नेपाल र ओमान भिड्दै छन्। 

खेल आइतबार बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ। घरेलु टोली नेपालले यूएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

ओमान बहराइनलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो। दुवै टोली २०२४ मा वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भैसकेका छन्।

नेपाल समूह चरणमा ओमानसँग पाँच रनले पराजित भएको थियो। पछिल्ला पाँच टी२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन्।

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ।