सुपर ओभरमा नेपाल चुक्दा ओमानले जित्यो विश्वकप एशिया छनोटको उपाधि

सुपर ओभरमा नेपाललाई ११ रनले पराजित गर्दै ओमानले आईसीसी टी२० विश्वकप एशिया छनोटको उपाधि जितेको छ।

तस्वीर : क्यान

काठमाडौँ– सुपर ओभरमा घरेलु टोली नेपाललाई ११ रनले पराजित गर्दै ओमानले आईसीसी टी२० विश्वकप एशिया छनोटको उपाधि जितेको छ। नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा १८५ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

ओमानलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। अन्तिम ओभरको पहिलो बलमा नदिमलाई सन्दीप लामिछानेले १ रन दिए। दोस्रो बलमा भने उनले आयन खानलाई डिप एक्स्ट्रा कभरमा रोहितकुमार पौडेलबाट क्याच आउट भए। उनले ८ बलमा १ छक्कासहित १० रन बनाए। 

तेस्रो बलमा शकील अहमदलाई अविनाश बोहराबाट क्याच आउट गराए। चौथो बलमा सन्दीपले फैयज बटलाई १ रन दिए। पाँचौँ बलमा सन्दीपले नदिमलाई चौका दिए। १ बलमा २ रन चाहिएको अवस्थामा नदिमले दुई रन लिन खोज्दा रन आउट भएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा ओमानद्वारा २२ रनको लक्ष्य
सुपर ओभरमा ओमानले २१ रन बनायो। नेपालका तर्फबाट अविनाश बोहरा बलिङमा उत्रिएका थिए। उनले अकीब इलियासलाई १ रन दिए। नशिम खुसीलाई ३ छक्कासहित १९ रन दिए। उनले १ बल वाइड फ्याँकेका थिए। नेपालले सुपर ओभरमा २२ रनको लक्ष्य पाएको थियो। 

नेपालको तर्फबाट क्रिजमा ओपनर कुशल भुर्तेल र गुलशनकुमार झा उत्रिएका थिए। ओमानका तीव्र गतिका बलर बिलाल खानले पहिलो बलमै कभरमा भुर्तेललाई कप्तान जिशान मक्शूदबाट क्याच गराए। 

बिलालले दोस्रो बलमा योर्कर गरेका थिए। तर, कुशल मल्लले खेल्न सकेनन्। तेस्रो बलमा कुशलले एक रन लिए। चौथो बलमा गुलशनले एक रन मात्रै लिन सके। पाँचौँ बलमा कुशलले चौका प्रहार गरे। अन्तिम बलमा कुशलले पुनः चौका प्रहार गरे। नेपालले सुपर ओभरमा १० रन मात्रै बनाउन सक्यो।


त्यसअघि ओमानले पहिलो विकेट तेस्रो ओभरको अन्तिम बलमा ओपनर प्रतीक अथाभाले सोमपाल कामीबाट एलबीडब्यू आउट भए। उनले ७ बलमा १ चौकासहित ७ रन बनाए।

त्यसपछि क्रिजमा आएका अकीब इलियास र ओपनर काश्यप प्रजापतिले दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै ओमानको इनिङ्स उकासे। तर, अकीब १०औँ ओभरको चौथो बललाई कट गर्ने क्रममा गल्लीमा सन्दीप जोराबाट क्याच भए। गुलशनकुमार झाको बलमा आउट हुनुअघि उनले १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए।

१६औँ ओभरको दोस्रो बलमा कप्तान जिशान मक्शूद १८ बलमा २ चौका र १ छक्कासहित २६ रन बनाएर क्याच आउट भए। विवेककुमार यादवले फ्याँकेको बललाई प्रहार गर्ने क्रममा उनी कभर प्वाइन्टनजिक रोहितबाट क्याच आउट भए। उनले तेस्रो विकेटका लागि प्रजापतिसँग ४२ रनको साझेदारी गरे।

ओमानका प्रजापति १७औँ ओभरको पाँचौँ बलमा छक्का प्रहार गर्न खोज्दा रोहितबाट डिप फरवार्डमा क्याच भए। उनले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए।

१८औँ ओभरको पहिलो बलमा नशिम खुसी विवेकबाट कभरमा क्याच आउट भए। करण केसीको बलमा उनी १ रनमा आउट भएका हुन्। सोही ओभरको चौथौँ बलमा मेहरान खान गल्लीनजिक विवेकबाट क्याच भए। उनले ३ बलमा १ चौका र १ छक्कासहित १० रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए। सोमपाल कामी, गुलशनकुमार झा, अविनाश बोहरा र विवेककुमार यादवको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।


नेपालका लागि कप्तान रोहितकुमारले ५२ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। रोहितले योसँगै टी२०आईमा पाँचौँ अर्धशतक पूरा गरेका छन्।

ओमानविरुद्ध उनले ३६ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। ३१ जनावरी २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका उनले ३३औँ इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन्।

उनले यसअघि मलेसिया, मंगोलिया, माल्दिभ्स र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए। यता, तल्लो क्रमका करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।

नेपालको खराब शुरूआत
नेपालले पहिलो विकेट तेस्रो ओभरको चौथो बलमै गुमायो। बिलाल खानको बलमा ओपनर आशिफ सेख काश्यप प्रजापतिबाट क्याच आउट भए। उनले प्रहार गरेको बल एज लाग्दै प्वाइन्टमा प्रजापतिबाट क्याच भएका हुन्। सेखले ६ बलमा १ छक्का मात्रै प्रहार गरे।

नेपालले पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ४७ रन बनाएको थियो। लगत्तै तेस्रो नम्बरमा आएका सन्दीप जोरा १३ बलमा १ चौकासहित १० रन बनाउँदै जिशान मक्शूदबाट बोल्ड भए। उनले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ३२ रनको साझेदारी गरे।

आठौँ ओभरको पहिलो बलमा भुर्तेल पनि क्याच आउट भए। अकीब इलियासको बललाई छक्का प्रहार गर्ने चक्करमा डिप प्वाइन्टमा मेहरान खानबाट क्याच भए। उनले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए।

१०औँ ओभरको अन्तिम बलमा कुशल मल्ल अकीबको बलमा बोल्ड भए। उनले ९ बलमा ३ रन बनाए।


रोहित र गुलशनको ७८ रनको साझेदारी
४–६० को स्थितिमा रहेको अवस्थामा पाँचौँ नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल र छैटौँ नम्बरमा आएका गुलशनकुमार झाले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।

२५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै गुलशनले ५४ रन बनाए। उनको टी२०आईमा यो नै उनको पहिलो अर्धशतक हो। उनले ओमानविरुद्ध २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। १९ फेब्रुअरी २०२२ मा ओमानमा भएको विश्वकप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध डेब्यू गरेका उनले १३औँ इनिङ्समा पहिलो अर्धशतक पूरा गरेका हुन्।

उनले पाँचौँ विकेटका लागि रोहितसँग ७८ रनको साझेदारी गरे। उनी १७औँ ओभरको अन्तिम बलमा स्क्वायर लेगमा शकील अहमदबाट क्याच आउट भए। उनी बिलाल खानको बलमा आउट भएका हुन्।

बिवेककुमार यादव ३ बलमा १ रन बनाउँदै बिलाल खानबाट कट एन्ड बोल्ड भए। रोहित र करणले अविजित रहँदै ३२ रनको साझेदारी गरेका थिए।

ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। यता, अकीब इलियासले २ विकेट लिए। यस्तै, जिशान मक्शूदको नाममा १ विकेट रह्यो।