घरेलु मैदानको फाइदा लिन यमन र नेपालको खेल बेलुका ७ बजे : एन्फा

फिफा वरियतामा १५६औँ स्थानमा रहेको यमनसँग १७३औँ स्थानमा रहेको नेपालले मंसिर ५ गते खेल्ने तय छ।

काठमाडौँ– विश्वकप २०२६ एशिया क्षेत्र छनोट दोस्रो राउन्ड र एएफसी एशियन कप छनोटअन्तर्गत यमन र नेपालबीचको खेल साँझ ७ बजेदेखि हुने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार प्रतियोगिताको तयारीबारे जानकारी दिँदै उक्त जानकारी दिएको हो। फिफा वरियतामा १५६औँ स्थानमा रहेको यमनसँग १७३औँ स्थानमा रहेको नेपालले मंसिर ५ गते खेल्ने तय छ।

एन्फाका फुटबल निर्देशक सञ्जीव मिश्रका अनुसार घरेलु मैदानको ‘एन्डभान्टेज’ लिन खेल ७ बजेदेखि राखिएको जानकारी दिए।

“मौसम, पब्लिक टास्फरटेसनलगायत सबै कुरा हुन्छ। तर, प्रशिक्षक भिन्सिन्जो अल्बर्टो एनिससँगको सल्लाहबमोजिम नै खेल ढिला गर्न लागेका हौँ। यसले हामीलाई एन्डभान्टेज मिल्छ भन्ने विश्वास लिएका छौँ,”  उनले भने। 

७ बजे खेल गर्दा साझा यातायात र अन्यसँग पनि सल्लाह गरिरहेको उनले बताए। खेल सकिएपछि टिकट देखाएर नि:शुल्क यात्रा गर्न सकिने उनले जानकारी दिए। यसका लागि २५ वटा गाडीको व्यवस्था गरिने उनको भनाइ छ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए। खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ। एन्फाले साधारण पारापिटतर्फ ४०० र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ तोकेको छ। 

टिकट खेल हुने दिन बिहानदेखि दशरथ रंगशालामा परिसरमा बिक्री गरिनेछ। छनोट खेलको लागि एन्फाले तयारी अगाडि बढाएको उनले बताए। 

खेलको लागि यमनको राष्ट्रिय टोलीलाई च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको एन्फाले जनाएको छ।