त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का

राखेपले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का लगाएको छ। फ्लड लाइट जडानपश्चात् मैदानमा राति पनि खेल आयोजना गर्न सहज हुने छ।

तस्वीर : क्यान

काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का लगाइएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको हो।

उक्त कम्पनीलाई फ्लड लाइट जडान गर्न २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा ठेक्का दिइएको राखेपले जनाएको छ। गत चैतमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि क्रिकेट मैदानमा पुगेका थिए। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल शीर्ष तीनमा रहेर एक दिवसीय विश्वकप छनोट खेल्न जिम्बावेको टिकट काटेको थियो।

लगत्तै नेपाली टोलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर उनले बधाई दिएका थिए। उनले उक्त कार्यक्रममा तत्कालै त्रिवि मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन दिएका थिए।

निर्देशन पाएपछि राखेपले फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न प्रक्रिया अगाडि बढाएको थियो। तर, भ्याटबाहेक २८ करोडको दुई पटक टेन्डर आह्वान गर्दा पनि कसैले मागअनुसार आवे‍दन दिएनन्। तेस्रो पटकको प्रक्रियामा एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको हो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राति पनि खेलहरू आयोजना गर्न सहज हुने छ।