के हो क्रिकेटमा टाइम आउट नियम?

श्रीलंकाका ब्याट्सम्यान म्याथ्युज टाइम आउट नियममा आउट हुने पहिलो खेलाडी बने। ​​​​​​​अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षे इतिहासमा टाइम आउटका कारण खेलाडी आउट भएको यो पहिलो घटना हो।

काठमाडौँ– आईसीसी एक दिवसीय विश्वकप २०२३ मा श्रीलंका र बांग्लादेशबीचको खेलमा अनौठो घटना देखियो। खेलमा स्ट्यान्स लिएर ब्याटिङ गर्न तयार हुनै लाग्दा श्रीलंकाका ब्याट्सम्यान एन्जेलो म्याथ्युजलाई आउट घोषित गरियो। यो घटनाका कारण क्रिकेटमा खेलको नियम र खेल भावनालाई लिएर फेरि एकपटक बहस शुरू भएको छ।

म्याथ्युजलाई ‘टाइम आउट’ नियमअनुसार आउट घोषित गरिएको हो। यसका लागि बांग्लादेशका कप्तान शकिब अलहसनले पनि अम्पायरसँग अपिल गरेका थिए। यस्तो अवस्थामा क्रिकेटमा टाइम आउटको नियम के हो र यो नियमअनुसार ब्याट्सम्यानलाई कसरी आउट दिइन्छ भन्ने कुरा जान्न जरुरी हुन्छ, जुन श्रीलंकाका खेलाडी म्याथ्युजसँग भएको छ।

टाइम आउट नियम के हो?
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को अन्तर्राष्ट्रिय क्रिकेट नियम ४०.१.१ अनुसार विकेट झर्दा या ब्याटिङ गर्ने खेलाडीले रिटायर लिँदा त्यसपछि नयाँ ब्याट्सम्यानले क्रिजमा छिरेर ३ मिनेटभित्र अर्को बल खेल्नुपर्छ। यदि क्रिजमा रहेका नयाँ ब्याट्सम्यानले त्यसो गर्न नसकेमा उसलाई टाइम आउट नियम अनुसार आउट दिइन्छ। तर, यो नियम बलिङ गर्ने पक्षले अपिल गरेपछि मात्र लागू हुन्छ। नियम ४०.१.२ अनुसार दुई मिनेटभित्र ब्याट्सम्यान मैदानमा नआएमा त्यस्तो अवस्थामा पनि अम्पायरलाई आउटको निर्णय दिने अधिकार हुन्छ। यो नियमलाई टाइम आउट भनिन्छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक टाइम आउट
अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षको इतिहासमा टाइम आउटका कारण खेलाडी आउट भएको यो पहिलो घटना हो। म्याथ्युज यो नियममा आउट हुने पहिलो खेलाडी बनेका छन्।

अन्तर्राष्ट्रियमा यो घटना पहिलो पटक भए पनि प्रथम श्रेणी क्रिकेटमा भारतीय ब्याट्सम्यानसहित ६ जना टाइम आउट नियमअनुसार आउट भएका छन्।

प्रथम श्रेणीमा टाइम आउट भएका ब्याट्सम्यानहरू

  • एन्ड्रयू जोर्डन, पूर्वी प्रान्त भर्सेस ट्रान्सवाल, १९८७-८८
  • हेमुलाल यादव, त्रिपुरा भर्सेस उडीसा, १९९७
  • वीसी ड्रेक्स, बोर्डर भर्सेस फ्री स्टेट,२००२
  • एजे ह्यारिस, नटिङ्घमशायर भर्सेस डरहम, २००३
  • रायन अस्टिन, विन्डवर्ड आयरल्यान्ड भर्सेस कम्बाइन्ड क्याम्पस, २०१३-१४
  • चार्ल्स कुन्जे, मताबेलेल्यान्ड टस्कर्स भर्सेस माउन्टेनियर्स, २०१७