च्याम्पियन्स लिग: आर्सनल र रियल मड्रिड विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

१० जनामा सीमित म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग ४–३ ले पराजित भएको छ। ३ अंक मात्र रहेको युनाइटेड समूहको पुछारमा छ।

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडले स्पोर्टिङ ब्रागालाई पराजित गरेको छ। 

बिहीबार बिहान भएको समूह ‘सी’को खेलमा ब्रागालाई ३–० ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको हो।

रियलकै घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले गोल गरेका थिए। जितपछि रियलको ४ खेलबाट १२ अंक भएको छ। ब्रागा ३ अंकसहित समूहको तेस्रो स्थानमा छ।

यस्तै, समूह ‘बी’को खेलमा आर्सनलले सेभिल्लाविरुद्ध २–० को जित हासिल गरेको छ। आर्सनलका ट्रोसार्ड र बुकायो साकाले गोल गरे। आर्सनल ९ अंकसहित तालिकाको शीर्षस्थानमा छ। २ अंक रहेको सेभिल्ला पुछारमा छ।

 यसैगरी, समूह ‘ए’को खेलमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ। १० जनामा सीमित म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनसँग ४–३ ले पराजित भएको हो। ४२औँ मिनेटमा मार्कस रासफर्डले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० जनामा सीमित भएको थियो। 

कोपनहेगनको जितमा मोहम्मद एल्युनुसी, डियोगो गोन्कालभेस, लेरागर र रुनी बार्डघजीले गोल गरे। युनाइटेडका रास्मस होज्लन्डले २ तथा कप्तान ब्रुनो फर्नान्डेजले १ गोल गरे। 

सोही समूहमा रहेको बायर्न म्युनिखले गालाटासारायलाई २–० ले पराजित गरेको छ। बायर्नको जितमा दुवै गोल ह्यारी केनले गरेका थिए। बायर्न दुई खेल अगावै नकाउट चरणमा प्रवेश गरेको छ। 

बायर्न ४ खेलमा १२ अंकसहित पहिलो स्थानमा छ। पुछारमा रहेको युनाइटेडको भने ३ अंक छ।