एन्फाका अध्यक्ष नेम्वाङविरुद्वको अविश्वासको प्रस्ताव असफल

गत भदौ २५ गते एन्फा इतरपक्षले अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए।

काठमाडाैँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव असफल भएको छ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको विशेष साधारणसभामा उनीविरुद्धको प्रस्ताव असफल भएको हो। उक्त प्रस्तावमा ८७ मध्ये ५३ मत खसेको थियो। जसमध्ये अध्यक्ष नेम्वाङको पक्षमा ५२ मत खसेको थियो। एक मत भने बदर भएको थियो।

गत भदौ २५ गते एन्फा इतरपक्षले अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए। प्रस्तावमा एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वमहासचिव इन्द्रमान तुलाधारसहित लिग खेल्ने क्लब, जिल्ला र केन्द्रीय सदस्य गरी ४८ जनाको हस्ताक्षर थियो।

इतरपक्षले अध्यक्ष नेम्वाङमाथि एन्फा विधानको मर्मविपरीत आफ्नो राजनीतिक सहुलियतका लागि अनलाइनमार्फत विशेष साधारणसभा बोलाउने अवैधानिक निर्णय गरेको, एन्फा विधानविपरीत विशेष साधारणसभा गर्न प्रयत्न गरेको तथा शहीद स्मारक लिग खेल्ने बहुमत क्लबले विधानअनुसार साधारण सभा गर्न माग गरेकोमा सोको समेत बेवास्ता गरिएकोलगायत विभिन्न १९ काम गर्न नसकेको आरोप लगाएका थिए।