श्रीलंकालाई हराउँदै न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलनजिक

जारी विश्वकप क्रिकेटमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरिसकेका छन्। 

काठमाडौँ– श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको सेमिफाइनलनजिक पुगेको छ।

बिहीबार श्रीलंकाले दिएको १७२ रनको विजयी लक्ष्य न्युजिल्यान्डले २३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

न्युजिल्यान्डको जितमा डेभोन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रनको योगदान दिए। यस जितसँगै न्युजिल्यान्ड सेमिफाइनल पुग्ने सम्भावना उच्च भएको छ। 

जारी प्रतियोगितामा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरिसकेका छन्। 

न्युजिल्यान्ड १० अंकका साथ चौथो स्थानमा छ। पाकिस्तान ८ अंकका साथ पाँचौँ स्थानमा छ। न्युजिल्यान्डको नेटरनरेट ०.७४३ र पाकिस्तानको ०.०३६ छ।

पाकिस्तानले न्युजिल्यान्डलाई नेटरनरेटमा पछि पार्न अन्तिम खेलमा शनिबार इंग्ल्यान्डलाई कम्तिमा २८७ रनले हराउनु पर्नेहुन्छ। यदि इंग्ल्यान्डलाई १५० भन्दा कम रनमा रोके पाकिस्तानले उक्त लक्ष्य ३.४ ओभरमा पूरा गर्नुपर्ने हुन्छ। २०० माथिको योगफल ७ ओभरमा पूरा गर्नुपर्ने हुन्छ।

८ अंक नै रहेको अफगानिस्तानले सेमिफाइनलमा पुग्न शुक्रबार दक्षिण अफ्रिकालाई ४३८ भन्दा बढी रनले हराउनु पर्ने हुन्छ। पाकिस्तान र अफगानिस्तान दुवैको सेमिफाइनल समीकरण असम्भव जस्तै छ।