वुमन्स अल स्टार्स टी२० : सीतासम्मिलित जाडे जेट्सको विजयी शुरूआत

जाडेले दिएको १३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले निर्धारित २० ओभरमा ९३ रन मात्रै बनाउन सक्यो।

काठमाडौँ– सीताराना मगरसम्मिलित जाडे जेट्सले हङकङमा जारी वुमन्स अल स्टार्स टी२० क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न खेलमा जाडेले रुविना क्षेत्री बेलबासेसम्मिलित बाउहिनिया स्टार्सलाई ३९ रनले पराजित गर्दै विजयी शुरूआत गरेको हो।

जाडेले दिएको १३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले निर्धारित २० ओभरमा ९३ रन मात्रै बनाउन सक्यो।

बाउहिनियाका लागि रुविनाले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। उनले ३९ बलमा १ चौका प्रहार गरिन्। मारियम बिबीले २२ बलमा १ चौकासहित २२ रन बनाइन्। ओपनर इमा लीले १९ रन बनाउँदा इकरा शाहार ३ रनमा अविजित रहिन्।

जाडेका लागि लागि मारिया बालोचले २ तथा एलिसन सियु र फतिमा अमिरले समान १ विकेट लिए।

४ ओभर बलिङ गर्दै १२ रन दिएकी सीता भने विकेटविहीन रहिन्।

त्यसअघि मिसन रोड क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको जाडेले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३२ रन बनायो।

जाडेका लागि सीताले सर्वाधिक ४० रन बनाइन्। उनले ३६ बलमा २ चौका प्रहार गरिन्। कप्तान शन्जिन शहजादले ४९ बलमा १ चौकासहित ३५ रन बनाइन्। यस्मिन दासवानीले १७ र एलिसन सियुले १० रन बनाए। उनीहरू अविजित रहे।

बाउहिनियाकाल इक्रा सेहरले २ तथा रुविना क्षेत्री र मारियम बिबीले समान १ विकेट लिए। रुविनाले ४ ओभर बलिङ गर्दै १ विकेट लिएकी थिइन्। सीता ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।