एशियाडमा रजत पदक विजेता एरिका गुरुङ सम्मानित

एशियाली खेलकुदमा रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई सम्मान गरिएको छ।

काठमाडौँ– एसएस फाउन्डेसनले एशियाली खेलकुदमा रजत पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ। सोमबार दीपावलीको अवसरमा एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्न सफल खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो।

चीनको हाङझाउमा सम्पन्न १९औँ एशियाली खेलकुदको करातेमा एरिका गुरुङले रजत पदक प्राप्त गरेकी थिइन्। पदक विजेता खेलाडी गुरुङ र उनका प्रशिक्षकलाई फाउन्डेसनले प्रमाणपत्र र ३१ हजार नगदसहित सम्मान गरेको हो।

सम्मान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले नेपालले अरू क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको बताए। उनले खेलकुदमा हासिल गरेको सफलताले अझै शिखर चुमोस भन्दै शुभकामना दिए।

उनले जलश्रोतमा नेपालको अपरा सम्भाव्यता रहेको पनि बताए। “नेपालले अरू क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको छ। यो खेलकुदमा हासिल गरेको सफलता र जलश्रोतमा भएको अपार सम्भाव्यताले हरेक तिहारमा नेपाललाई उज्यालो पारोस्,” उनले भने।

सो अवसरमा फाउन्डेसनले दोलखाली पत्रकार समाजको अध्यक्ष भएकोमा फोटो पत्रकार ज्ञानेन्द्र कार्कीलाई पनि सम्मान गरेको थियो।