बाबर आजमले छाडे पाकिस्तान क्रिकेट टिमको कप्तानी

बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्।

काठ‍माडौँ– बाबर आजमले पाकिस्तानको क्रिकेट टिमको कप्तानी छाडेको घोषणा गरेका छन्। 

उनले एकदिवसीय विश्वकप–२०२३ मा टिमले खराब प्रदर्शन गरेपछि सामाजिक सञ्जालमार्फत क्रिकेट टिमको नेतृत्व छाडेको घोषणा गरेका हुन्। उनले आफूले सबै फर्म्याटको कप्तानी छाडेको घोषणा गरेका छन्। यद्यपि, उनी टिममा खेलाडीका रूपमा भने रहने छन्।

भारतमा भइरहेको विश्वकपमा पाकिस्तान लिग चरणमा खेलेका नौ खेलमध्ये चार वटामा मात्रै विजयी भएको थियो भने पाँच वटामा पराजय बेहोरेको थियो। अंक तालिका पाँचौँ स्थानमा रहँदा पनि पाकिस्तान सेमिफाइनलसम्म पुग्न सकेन। बाबरले पनि व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्न सकेनन्। उनले नौ खेलमा ३२० रन मात्रै बनाउन सकेका थिए।

उनले सामाजिक सञ्जालमा सबै फर्म्याटको कप्तानी छोड्ने मुस्किल निर्णय लिएको बताएका छन्। यद्यपि आफ्नो निर्णयका लागि यो सही समय भएको उनको भनाइ छ। “आजबाट मैले सबै फर्म्याटको कप्तानी छाडेको छु। यो मुस्किल निर्णय भए पनि यसका लागि यो सही समय हो,” उनले एक्समा लेखेका छन्।

उनले नयाँ कप्तान र टिमलाई सम्मान गर्दै खेलाडीका रूपमा आफ्नो खेललाई अगाडि बढाउने पनि उल्लेख गरेका छन्। आवश्यकताअनुसार अनुभव साझा गर्दै जाने बताएका उनले भरोसा गरेर आफूलाई कप्तान बनाएकोमा पाकिस्तान क्रिकेट बोर्डप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनी २०१९ मा पाकिस्तानको क्रिकेट टिमको कप्तान बनेका थिए।