भारत विश्वकप क्रिकेटको फाइनलमा, कोहलीको कीर्तिमानी शतक

दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र दछिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल आइतबार हुनेछ।

काठमाडौँ– एकदिवसीय क्रिकेटमा विराट कोहलीको ५०औँ शतक र मोहम्मद सामीले सात विकेट लिएसँगै भारत विश्वकप क्रिकेट–२०२३ को फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न पहिलो सेमिफाइनमा न्युजिल्यान्डलाई  ७० रनले पराजित गर्दै घरेलु टोली १३ वर्षपछि विश्वकपको उपाधि नजिक पुगेको हो। जितका लागि ३९८ रनको लक्ष्य पाएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३२७ रन बनाएर अलआउट भयो। 

न्युजिल्यान्डका ड्यारेल मिचेलले ११९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १३४ रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा आउट भए।

रचिन रवीन्द्र र डेभन कन्वे समान १३–१३ रनमा आउट भए। ग्लेन फिलिप्सले ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रन बनाए। 

भारतका मोहम्मद शामीले ७ विकेट लिए। जसप्रित बुमराह, कुलदिप यादव र मोहम्मद शिराजका नाममा समान १–१ विकेट रह्यो। 

भारतको जितमा विराट कोहलीले ११३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ११७ रनको शतकिय इनिङ्स खेलेका थिए। कोहलीको यो ओडीआई करिअरको ५०औँ शतक हो। उनी ओडीआईमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन्। कोहलीले सचिन तेन्दुलकरको ४९औँ शतकको कीर्तिमान तोडेका हुन्।

श्रेयस एयरले ७० बलमा ४ चौका र ८ छक्कासहित १०५ रनको शतकीय इनिङ्स खेले। कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट शुरूआत दिलाएका थिए। 

शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नटआउट रहे। उनी ७९ रनमा रिटायर्ड हर्ट भएका थिए। केएल राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नटआउट रहे।

न्युजिल्यान्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए। 

बिहीबार दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल आइतबार हुनेछ।