विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।

काठमाडौँ– फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ।

बिहीबार राति भएको खेलमा घरेलु टोलीले नेपाललाई ४–० ले हराएको हो। यूएईको जितमा कप्तान अलि मखबूटले २ तथ खलीफा अल–हम्मादि र फावियो लिमाले १–१ गोल गरे।

खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो। नेपालले सबै गोल पहिलो हाफमा खाएको थियो। 

यूएईले ११औँ मिनेटमा अग्रता लियो। अलि अम्रोको क्रसमा खलीफा अल–हम्मादिले हेडरमार्फत गोल गरे। ३५औँ मिनेटमा अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि यूएईले पेनाल्टी पाएको थियो।

अलि मखबूटले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे।। ४४औँ मिनेटमा मखबूटले व्यक्तिगत दोस्रो गोल गरे। जाएद अल–जाबिको हेडर पासमा उनले हेडरमार्फत नै गोल गरेका थिए। 

फाबियो लिमाले पहिलो हाफको थपिएको समयमा गोल गर्दै खेल ४–० को अवस्थामा पुर्‍याए। दोस्रो हाफमा नेपालले केही अवसर प्राप्त गरे पनि गोल गर्न भने सकेन।

८१औँ मिनेटमा मनिष डाँगीले बक्सको छेउबाट प्रहार गरेको प्रहार यूएईका गोलकिपर अल–मेसमारीले बचाए। 

छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।