टुकीको बत्तीमा पढेर सन्दुक रुइत संसार हल्लाउने डाक्टर बने। उनलाई चाहिएन फ्लड लाइट! अझ महाभारत पढाइदिनुस् न तिनीहरूलाई, अर्जुनले धनुर्विद्यामा महारथ हासिल गर्न अँध्यारोमै तीर चलाउने अभ्यास गरेका थिए।
एकथरि मान्छेहरूले गएको राजतन्त्र खोज्न थाल्दा पनि तपाईंहरूले चाहिँ यत्रो समय बेपत्ता भएको फाफुराको खोजीनीति गर्नुभएन। योे देख्दा बरो फाफुराको घुँडाबाट जति आँशु बगे त्यति त चाडबाडमा मन्त्री तथा नेताहरूको घरमा स्कच र सिंगल माल्ट पनि बगेन होला। केही शुभचिन्तकहरूले चाहिँ फाफुरा खाडीतिर गुल्टियो भन्ठान्नुभएको रहेछ। उसलाई अझ धेरै माया गर्ने केही आफन्तले त बज्या उहिले नै बाकसमा लमतन्न सुतेर आइसक्यो पनि भन्ठान्नुभएको रहेछ। उसको आरिस गर्नेहरूले ‘मुलङ्खारे अमेरिका तिर पलायन भयो र सामाजिक सञ्जालमा कुनै केटीको नाममा चिप्रा पनि नपुछ्दै देशको चिन्ता गरिरहेको होला’ पनि भन्नुभएछ।
तर यो फाफुरा कसरी अमेरिका जाओस् र! न त उसको अनुहार भुटानी शरणार्थी जस्तो छ, न कुनै कांग्रेसी ठूला नेतासम्म उसको पहुँच छ। बलियोबांगो उमेरमा यसो जुलुससुलुसमा पुलिसलाई ढुंगा हान्न गएको भए, कुनै नेताका लागि खुुँडा खुकुरी बोकेको भए पो। सुर बेसुर जेमा पनि दुईचार वटा गीत कराउन जानेको भए, वा नाकमुख बंग्याएर तथाकथित कमेडी गर्न जानेको भए पनि ‘कलाकार’ भन्दै विदेश गएर लुक्ने अवसर प्राप्त हुन्थ्यो होला। ती सब योग्यता बटुल्नुको साटो फाफुराले त जीवनका उर्जामय उमेर लेख्ने र पढ्ने कुलतमा फसेर बितायो। उसले जानेको भनेकै फाइँफुट्टी हाँक्ने हो तर त्यसमा पनि देशका ठूला नेताहरूले उसको पेटमा लात्ती हानिदिए। यति ठूला फाइँफुट्टीबाज भएर निस्के, बबुरो फाफुराको त त्यो दोकान पनि बन्द भयो।
उसो भए अहिले यत्रो पछि के खान आएको भनेर तपाईंहरू भेलु बाजे र देउवा जसरी पारा चढाएर सन्किनु हुन्छ भने त्यो स्वाभाविकै हो। योभन्दा पनि लामो समय चुप बसेँ भने फाफुरालाई तपाईंहरूले चटक्कै बिर्सनुहोला भनेर ऊ आएको छ।
तपाईंहरूलाई थाहै छ, फाइँफुट्टी फुराउन परेपछि ऊ रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्ने गर्छ। अहिले त झन् पारिलो घाम प्यारो हुने बेला। त्यसैले फाफुरा रत्नपार्कमा लमतन्न परेर जनकपुरको कार्यक्रममा मोदीको छेउमा देउवा निदाएजस्तै र्याल चुहाएर के झपक्क भएको थियो, उसकोे उर्वर खप्परमा केही कुरा आएर ड्यांग ठोक्कियो। ‘आइया...’ भन्दै उठेर उसले आफ्नो खप्पर छाम्यो। त्यहाँ खप्रओको गफ, बाराभको राष्ट्रप्रेम, पुकदाको अहिंसा र राचपौको सादगीभन्दा पनि ठूलो टुटिल्को उठिसकेछ। अलि पर क्रिकेट खेलिरहेका केही ठिटाहरूले मच्चाएको बलले आएर उसको खप्परमा चौका हानेको रहेछ। फाफुरा उनीहरूलाई हेरेर तार सप्तक सुरमा चिच्यायो, “याँ मान्छे सुत्ने ठाम्मा आएर क्रिकेट खेल्ने हो?”
उताबाट पनि त्यही सुरमा एउटा टिठो करायो, “रत्नपार्कलाई तपाईंले संसद भवन भन्ठान्नुभो कि क्या हो दिउँसै सुत्न?”
फाफुरा अवाक भयो।
ठिटोले खुइय्य गर्दै भन्यो, “के गर्नु अंकल, राज्यले एउटा गतिलो खेलमैदान बनाइदिएको छैन। दुईचार आना घडेरी काटेर शहरभरि कतै खुल्ला ठाउँ बाँकी राख्या छैनन्। कहाँ गएर खेल्नु त?”
फाफुराको मगजमा अचानक झिलिक्क फाइँफुट्टी हाँक्ने विषय आइहाल्यो, क्रिकेट। उसले बल उनीहरूतिर हुर्याउँदै त्यसले आफ्नो टाउकामा हिर्काउनेलाई गोलीगाँठोदेखि नै आशिक दियो, “जय होस् तँ बज्याको।”
हुन त अब अहिले सबै नेपाली क्रिकेट विज्ञ भएको बेला ‘तँ मुला फाफुरालाई क्रिकेटबारे के थाहा छ र’ भन्नुहोला। फाफुराले जति पनि क्रिकेट नबुझ्याहरूले क्यान कि के जाति संस्था त हाँक्न सक्छन् भने फाफुराले नाथे फाइँफुट्टी हाँक्न नसक्नु?
ओलीबाले जति क्रिकेट उसले पनि बुझेको छ, डल्लो फाल्ने र मुंग्रोले बजाउने त हो नि। अरु के जान्नु पर्यो र! त्यति नाथे डल्लो फालेको र मुंग्रो घुमाएको भरमा हिजोका चल्ला आजका फुलहरू नाम र दाम कमाइरहेका छन्। खासमा तिनका काम र कुरा देखेर हाम्रा नेता, मन्त्री तथा सरकारको कन्सिरीका रौँहरू तात्नुपर्ने हो। तर त्यसो नभई उनीहरू पनि यिनकै लहलहैमा लागेको देख्दा फाफुरा जिल्लाराम परेकोे छ। त्यसैले ऊ यो फाइँफुट्टी सरकारमा भएका र अरु नेताहरूका आँखा खोल्नका लागि हाँक्दैछ।
मान्यवर,
डल्ला फालेर र मुंग्रो हल्लाएर आज यिनीहरू ढुंगा हानेर ‘पावर’मा आउनुभएका तपाईंहरूलाई टक्कर दिने हुन लागिसके। पहिलेपहिले सम्चार भन्या तपाईंहरूका मात्र हुन्थे, जताततै मिडियामा तपाईंहरू मात्रै छाउनुहुन्थ्यो। चोेकचोकमा घरघरमा तपाईंहरूकै बकम्फूसे कुराहरूको मात्र चर्चा हुन्थ्यो। तर अचेल ती सबै ठाउँमा तिनीहरू छाउन थालेका छन्। हुँदाहुँदा अन्तर्राष्ट्रिय जगतमा पनि तिनका नाम सुनिन थालेको छ। त्यसो हुनका लागि तिनले के गरेका छन् भन्नुस् त! के ती ठेट्नाहरू तपाईंहरूको भाषणमा ताली ठोक्न आएका छन्? के तिनले तपाईंहरूले आह्वान गरेको जुलुस र आन्दोलनमा ढुंगामुढा गर्न गएका छन्? के तिनले तपाईंहरूलाई सत्तामा पुगेर अकुत आर्जन गर्न झिंगाको टाउको जति पनि सहयोग गरेका छन्? छैनन्।
तिनले त डल्ला फाल्ने र मुंग्रो घुमाउने बाहेक केही गरेका छैनन्। त्योसँग तपाईंहरूले नयाँ नेपाल बनाउन, गरिब र सर्वहाराको उत्थान गर्न, नेपालीको मुहार फेर्न, देशलाई स्वीट्जरल्यान्ड बनाउन गरेको नरसंहार, रक्तपात, आन्दोलन, बन्द र तोडफोडजस्ता गौरवशाली कार्यको कुनै तुलना हुन सक्छ? तर त्यो सब भुलेर तपाईंहरू त हामीजस्ता मुर्ख जनताहरूको लहैलहैमा लागेर घरी तिनैलाई पुरस्कार दिने कुरा गर्नुहुन्छ, घरी रंगशाला बनाइदिने भन्नुहुन्छ। नसक्ने कुरा किन गरिरहनू? नागढुंगा–नौबिसे सडक बनाउन नसकिरहेको बेला, पोखरा जाने र भैरहवा जाने बाटो बनाउन नसकिरहेको बेला एकैपटक सिंगै रंगशाला बनाउने आँट गर्नुहुन्छ? कसले पत्याउँछ र त्यो कुरा?
फेरि, त्यो काम गर्ने तपाईंहरू को हो र भन्या? आफ्नो काममा ध्यान दिनुस् न। बरु, भ्यू टावर बनाउनुस्। आआफ्नो गाउँ वा क्षेत्रमा एकएक वटा हवाईअड्डा बनाउनुस्, सामाजिक सञ्जाललाई कसरी नियन्त्रण गर्ने भन्ने नियम बनाउनुस्। रंगशाला नाथे त हास्य कलाकारहरूले बनाइहाल्छन् नि।
तर तपाईंहरू चाहिँ उल्टै तिनीहरूलाई नगद पुरस्कार दिने भनेर टाउकामा चढाउँदै हुनुहुन्छ। तपाईंहरूकै सिको गरेर जौ पानी कम्पनीलगायत पनि लिलाम बढाबढ गर्न थालेका छन्। यसरी पनि चल्छ? यसैगरी मत्याएको हुनाले अब उनीहरूको माग त झनै बढ्न थालेको छ। अब तिनलाई क्रिकेट खेल्न फ्लड लाइट कि के जाति चाहियो रे। अनि तपाईं २७ करोडको ठेक्का निकाल्नुहुन्छ। हुन त, त्यसमा कति करोड त घुम्दैफिर्दै तपाईंहरूकै आसेपासेहरूका गोजीमा आउने होला, त्यो फरक कुरा। तर मूल कुरो, किन चाहियो यिनलाई फ्लड लाइट?
टुकीको बत्तीमा पढेर सन्दुक रुइत संसार हल्लाउने डाक्टर बने। उनलाई त चाहिएन फ्लड लाइट! ए बाबा अझ महाभारत पढाइदिनुस् न एकपटक तिनीहरूलाई। अर्जुनले धनुर्विद्यामा महारथ हासिल गर्न अँध्यारोमै तीर चलाउने अभ्यास गरेका थिए। त्यसैले आकाशमा घुमिरहेका माछाको छायाँ पानीमा हेरेर त्यसको आँखामा तिर गाड्न सक्थे। त्यतिमात्रै नभई, अर्जुनले महाभारतै जितेर देखाए। अर्जुनलाई चाहियाथ्यो फ्लड लाइट? यिनीहरूलाई चाहिँ डल्ला फ्याल्न र मुंग्रो घुमाएर १० वटा देशले खेल्ने खेल जित्न सुविधा चाहियो, रंगशाला चाहियो, यो चाहियो, त्यो चाहियो रे। के ख्याँसेका छन् यिनले भन्नुस् त?
एकपटक आफ्नो गौरवशाली यात्रालाई फर्केर हेर्नुस् त, यो देशलाई हरितन्नम बनाउन तपाईंहरूले कति दुःख गर्नुभएको छ! जात, धर्म, वर्ग र अनेक कुरा गरेर फुट हाल्दै यो अवस्थामा ल्याउनुभएको छ। चारैतिर निराशा व्याप्त गराउनुभएको छ। अर्थतन्त्र डाँमाडोल बनाउनु भएको छ। धमाधम देश छोडेर भाग्ने बनाउनुभएको छ। तर तपाईंहरूले यत्रो वर्ष लगाएर, त्यति धेरै विदेशी मुद्रा खाएर, पचाएर विभाजन गर्न खोजेको जनतालाई यिनीहरूले फेरि एउटै डोरीमा बाँधिरहेका छन्। उनीहरूलाई न जातले, न धर्मले न तपाईंहरूले छरेका अरु कुनै कलहको बीउले केही असर गर्छ। यिनले त तपाईंहरूको महान क्रान्तिको अवमूल्यन गरिरहेका छन्। त्यत्रो मिहिनेतमा पानी खन्याइरहेका छन्।
तपाईंहरूले यिनका लागि माखा नमार्दा पनि यिनीहरू जितमाथि जित निकाल्दै जनतालाई खुशी हुने कारण दिइरहेका छन्। जनता खुशी भए भने, एकजुट भए भने तपाईंहरूको धन्दापानी चौपट भएन? कसमाथि गर्ने राज? यी तपाईंका रैतीहरूलाई खुशी हुने अधिकार छ? नभएको कुरा दिन खोज्ने यिनको यत्रो हिम्मत? हेर्नुस् त, आजभोलि तपाईंहरूका भाषण सुन्न मान्छे पाउन गाह्रो भइसकेको छ, हो कि होइन? कति ठाउँमा माइकसमेत नसमाती लोप्रे कान लगाएर पुच्छर लुकाएर फर्किनुपरेको कुरा बिर्सनुभयो? तर यी नाथे भुराहरूले चाहिँ एउटा चौरीमा डल्लो फालेको र मुंग्रो घुमाएकोे हेर्न हजारौं जनता उर्लेर जान्छन्, त्यो पनि टिकट काटीकाटी। न तपाईंहरूले त्यहाँ राम्रो बस्ने ठाउँ बनाइदिनुभा’छ, न त पिसाब फेर्न एउटा गतिलो ठाउँ नै छ। तर पनि लघु, मध्यम र दीर्घशंका रोकेर बाँदर जसरी रूखका हाँगाहाँगामा तुर्लुंग झुन्डेर तपाईंका भोटरहरू त्यहाँ दिनभर रमाएको देख्दा अब पनि तपाईंको आत्मा नरोए कहिले रुन्छ? उल्टै लाजै नमानी बेलाबेला तपाईंहरू आफैँ त्यहाँ जानुहुन्छ। त्यहीँ तपाईंहरूलाई ती जनता ‘मुर्दावाद’ भन्दै नारा लगाउँछन्। केही गरी खेल हार्यो भने तपाईंहरूलाई नै पनौती, लोदर र अरु नामले दोष लगाउँछन्। यति सबै हुँदा पनि तपाईंहरूमा अलिकति पनि ईख पलाएको छैन?
त्यसैले फाफुराले भनेको कुरा ध्यान दिएर सुन्नुस्। यिनलाई बेलैमा नियन्त्रण गरिहाल्नुस्। नत्र नाथे र्याप हान्ने त हो भनेर, अनि टीभीमा कुर्लंदैमा के ख्याँस्छ भनेर तपाईंहरूले हेपेकाहरू आज तपाईंहरूकै नाकमा नत्थी हाल्ने भैसकेका हो कि होइन? भोलि यिनीहरू पनि थपिएलान्। बेलैमा सचेत हुनुस्। त्यसैले फाफुरा आज यो फाइँफुट्टीमार्फत हाम्रा देशका तपाईं नेता, मन्त्री, क्यान र सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू दिन चाहन्छ। त्यो पनि माकुनेले भनेजस्तो, बिनाढेउवा के।
जति निजी क्षेत्रहरूले गैरजिम्मेवार ढंगले अनेकौँ नगद पुरस्कारको लोभ देखाएर मत्याएका छन्, सरकारले त्यति नै दण्डको डर देखाएर यी खेलाडीहरूलाई अत्याउन सक्नुपर्छ। यो सन्तुलन मिलाउन सक्नुभएन भने भोलि तपाईंहरूको लागि घाँडो हुन्छन् यिनीहरू। तसर्थ यिनीहरू टी–ट्वेन्टी विश्वकप खेल्न जानुअघि नै निम्न बमोजिमका घोषणा अविलम्ब गरिहाल्नुुस्। त्यसको दीर्घकालीन फाइदा म तपाईंहरूलाई फाइँफुट्टीको अन्त्यमा बताउँला।
दफा १. डल्ला फ्याँक्ने अर्थात्, बलरहरूका लागि
उपदफा १.१
डल्ला फ्याँक्नेहरू (जसलाई यसपछि बलर भनिनेछ) ले फ्यालेको डल्लामा विपक्षी खेलाडीले बनाएको प्रत्येक रनका लागि अब उप्रान्त जरिबाना लगाइनेछ। अर्थात विपक्षी खेलाडीले एक रन लिएमा निज बलरले १ हजार, त्यसैगरी दुई रन लिएमा ३ हजार, तीन रन लिए ५ हजार, चौका प्रहार भए १० हजार र छक्का हाने २० हजार रुपैयाँ सरकारलाई बुझाउनेछ। 'वाइड' तथा 'नो बल'का लागि पनि खेलाडीलाई ५ हजार रुपैयाँ थप दण्डित गरिनेछ। यदि त्यो नो बलमा चौका प्रहार भए चार गुना र छक्का प्रहार भए छ गुना अतिरिक्त शुल्क तिर्नुपर्नेछ। यसले खेलाडीलाई संयमित र नियन्त्रित भएर डल्ला फ्याँक्न अभिप्रेरित गर्नेछ। अरु देशकाले त्यति गर्नका लागि छुट्टै बलिङ प्रशिक्षक राखेर थप खर्च गरेका हुन्छन्। हामी त्यो खर्च बचाउने मात्र नभइ तपाईंहरूले सुकुटी बनाइसक्नुभएको राष्ट्रको ढुकुटीलाई अलिकति भए पनि भरथेग गर्न सक्षम हुनेछौँ।
दफा २. क्षेत्ररक्षक अर्थात् फिल्डिङ गर्नेहरूका लागि
उपदफा २.१
विपक्षी खेलाडी रन लिनका लागि कुदेको बेला निजलाई ‘आउट’ गर्ने अवसरको सिर्जना भएको अवस्थामा डल्ला टिपेर तीनवटा लौरोमा हिर्काउँदा लगाउन नसकेको खण्डमा डल्ला फ्याल्नेलाई ५ हजार रुपैयाँका दरले जरिबाना गरिनेछ। यदि, त्यो ‘ओभर थ्रोे’ भएको अवस्थामा १० हजार रुपैयाँ दण्ड हुनेछ। ओभर थ्रोका कारण चौका वा छक्का भएमा दफा १ को उपदफा १.१ मा उल्लेखित अनुसारको थप जरिबाना लाग्नेछ। यसका अतिरिक्त त्यस्ता गैरजिम्मेवार खेलाडीलाई मैदानमा ‘स्टम्प’को साटो पशुपतिको आर्यघाटमा भएको कलीको मूर्ति जसरी घुँडाघुँडासम्म गाडेर अरु खेलाडीहरूलाई ‘डाइरेक्ट थ्रो’ र ‘हिट’का लागि अभ्यास गराइनेछ।। त्यस्तो बेला कुनै ‘प्याड’ वा ‘गार्ड’ प्रयोग गर्न दिइने छैन।
उपदफा २.२
विपक्षीको मुंग्रोबाट उछिट्टिएर हावामा उडेर आएको डल्लालाई भुईंमा खस्नुअघि समात्ने क्रममा (जसलाई यसपछि ‘क्याच आउट’ गर्ने भनिनेछ) असफल भएको खण्डमा निज क्षेत्ररक्षकलाई २५ हजार रुपैयाँ जरिबाना गरिनेछ। त्यस्ता खेलाडीलाई अरेली काँडा बिछ्याएको चौरमा नांगो खुट्टा दौडाउने पनि गरिनेछ।
उपदफा २.३
यिनका गल्तीले आउट नभएको विपक्षी खेलाडीले तत्पश्चात् बनाएका हरेक रनमा निज क्षेत्ररक्षकलाई प्रति रन २ हजार रुपैयाँ, अर्धशतक बनाए ५० हजार र शतक वा सोभन्दा बढीका लागि १ लाख रुपैयाँ छेर भालु छेर गराइनेछ।
उपदफा २.४
तर हाम्रो देश नेपाल प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भएका कारण निज क्षेत्ररक्षकले मनग्य प्रयास गरेको अवस्थामा जस्तै, ‘डाइभ’ लगाउँदा वा उफ्रँदा असाधारण शारीरिक क्षमताको प्रदर्शन भएमा केही छुट दिन सकिनेछ। त्यसका लागि योग्य हुन घुँडा वा कुहिना दर्फराएको, गोलीगाँठा मर्किएको, हात वा खुट्टा भाँचिएको हुनुपर्छ। सोको प्रमाण भिडियो रेकर्डिङसहित सरकारले स्वीकृत गरेको चिकित्सकको सिफारिस, १० रुपियाँको हुलाक टिकट टाँसेको सरकारले तोकेको ढाँचाको निवेदन पेश गर्नु पर्नेछ। सबै कुरा ठीक साँचो ठहरिएमा जरिबानाको बढीमा २५ प्रतिशत छुट दिने निर्णय मन्त्रिपरिषद्को बैठकले दुईतिहाइले पास गरेर सम्माननीय राष्ट्रपतिज्यूकहाँ लालमोहरको लागि पठाइनेछ।
उपदफा २.५
मैदानको पुछार (जसलाई यसपछि ‘बाउन्ड्री लाइन’ भनिनेछ) मा रहने क्षेत्ररक्षकका आलस्यका कारण हुने चुकले चौका वा छक्का भएमा प्रतिचौका ५ हजार र प्रतिछक्का १० हजार रुपैयाँ जरिबाना गराइनेछ। उपदफा २.२ मा व्यवस्था गरिएको जरिबाना दण्ड र उपदफा २.३ मा उल्लेख गरिएको छुटको व्यवस्था तिनै उल्लेखित शर्तहरूका साथ यहाँ पनि लागू हुनेछ।
दफा ३. मुंग्रो घुमाउने अर्थात्, ब्याटरहरूका लागि
उपदफा ३.१
विपक्षीले फालेको हरेक बलमा कम्तीमा एक रन बनाउन नसकेको अवस्थामा प्रतिडट बल १ हजार रुपैयाँका दरले जरिबाना गरिनेछ। ‘एलबीडब्लू’ भएर आउट भए ५ हजार रुपैयाँ जरिबाना हुनेछ। ‘क्लिन बोल्ड’ भएको अवस्थामा भने निम्नानुसार हुनेछ–
- एउटा स्टम्प उडेको अवस्थामा १० हजार रुपैयाँ
- दुइटा स्टम्प उडेमा २० हजार रुपैयाँ
- कथंकदाचित तीनवटै स्टम्प उडेमा ५० हजार रुपैयाँका दरले दण्ड शुल्क बुझाउनु पर्नेछ
यसैगरी, क्याच आउट तथा रन आउट भएमा ५ हजारका दरले जरिबाना गरिनेछ। जाबो ६६ फिट पनि दौडेर पार गर्न नसकेर रन आउट हुने खेलाडीलाई खेलपश्चात् नागार्जुनको वनमा लगेर एक महिनासम्म दैनिक नेपाल प्रहरीका तालिमप्राप्त कुकुरहरूलाई पछि लगाएर दौडाइनेछ। जसले गर्दा आगामी खेलहरूमा त्यस्ता गल्ती दोहोरिन पाउने छैनन्।
दफा ३.२
विपक्षीले फालेको डल्ला मुंग्रोले रोक्न नसकेर नलीखुट्टोमा लागेर आउट भएमा (जसलाई यसपछि एलबीडब्लू भनिनेछ) निज खेलाडीलाई ५ हजार रुपैयाँ जरिबानाका साथै सोही खुट्टाको पिँडुलामा पानीले भिजाएको सिस्नु ५० देखि १०० पटक झ्याम्झ्याम् प्रहार गरिनेछ।
दफा ३.३
यसबाहेक अरु साधारणतया प्रचलनमा नभएका तौर तरिकाहरू जस्तै ‘म्यानकान्ड’ वा ‘टाइम आउट’ भएको अवस्थामा सोही अनुसार हेरेर ५ देखि १० हजार रुपैयाँ जरिबाना तथा सुहाउँदो भौतिक कारबाही हुनेछ।
दफा ३.२
खेलाडीले राम्रो खेलेर निजी क्षेत्रबाट कमाएको पुरस्कार रकममा सरकारलाई बुझाउनुपर्ने करकट्टी पश्चात हुन आउने रकमभन्दा खराब खेलेर तिर्नुपर्ने जरिबाना बढी भएको अवस्थामा फरफारक रकम उनीहरूको जाथजेथा, घरघडेरी र पुस्तैनी सम्पत्ति लिलाम गरेर उठाइने छ। ती पनि नभएको खेलाडीलाई राजनीतिक पार्टीहरूको जुलुश र आन्दोलनमा भाडामा ‘सप्लाई’ गरेर रकम असुलउपर गरिनेछ।
दफा ४. हारको अवस्थामा टोलीलाई हुने सामुहिक दण्ड
अब अन्त्यमा प्रश्न उठ्छ सामूहिक दण्डको। क्रिकेट टीम खेल भएको हुनाले व्यक्तिगत रूपमा मात्र खेलाडीलाई दण्डित गर्नु न्यायोचित हुँदैन। तसर्थ हाम्रा उत्तर कोरियाली कामरेडहरूले विश्वकप फुटबलको बेला कायम गरेको गौरवशाली प्रथाबाट अभिप्रेरित हुनु समयको माग हो। हारेको टीमलाई उनीहरूले कोइलाखानीमा श्रमदान गर्न पठाएको उदाहरण फाफुरा यहाँनिर स्मरण गराउन चाहन्छ। दुर्भाग्यवश हाम्रो देशमा त्यस्ता कुनै खानी छैनन्। तर अहिले देशको प्रदेशैपिच्छे नयाँ क्रिकेट मैदानहरू घोषणा भएको अवस्थामा सम्पूर्ण टीमलाई ती मैदान र रंगशालामा श्रमदान गर्न लगाइनेछ। आफैँले खेल्ने खेलका लागि यो योगदानले उनीहरूलाई अझ जिम्मेवार बनाउनेछ। त्यसरी जरैदेखि चिनेको मैदानमा अरु देशका आगन्तुकहरूसँग खेल्दा हाम्रा खेलाडीहरूको प्रदर्शन अझ सशक्त हुनेछ।
अब फाफुराका प्रिय पाठकहरूलाई लाग्ला यी सबै त अलि अधिनायकवादी नियमहरू भए। फाफुरा के भन्न चाहन्छ भने, कुनै पनि कुराको दीर्घकालीन असरलाई हेरेर मात्र मूल्यांकन गरिनुपर्छ। हेर्नुस्, कुनै पनि कुरा सफल भएको अवस्थामा दिने भनिएको पुरस्कारले जति अभिप्रेरित गर्छ, त्यति नै असफल भएमा दिइने दण्ड र जरिबानाले मानिसलाई चनाखो बनाउँछ। पुरस्कार र दण्डको सही सन्तुलन हुनुपर्छ। डर नभएको मानिसको भर हुँदैन, जे पनि गर्न सक्छ।
तसर्थ, यी नियमहरूको कडाइका साथ पालना गरेको अवस्थामा हाम्रा खेलाडीहरू बढी सतर्क र जिम्मेवार भएर खेल्नेछन्। त्यसो भएपछि यिनीहरूले जित्नेछन्, अनि त्यो जितको सबै श्रेय तपाईंहरूले लिन पाउनुहुनेछ। तपाईंहरू यो खेलको उत्थानका लागि त्यो दिन चाहिँ नछोड्नुहोला, जसमा तपाईंहरू पोख्त हुनुहुन्छ। तीन करोड नेपालीलाई त्यही दिएर भुलाउन सक्नुभएको छ भने नाथे २२–२५ खेलाडीलाई किन नसक्नू?
आश्वासन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
