च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको पाँच दिनमै पुनर्बहाली गरेको छ। यी पाँच दिनमा कम्पनीलाई क्षति पुग्ने गरी भएका गतिविधिले पुनर्बहाली बाध्यता बन्यो।
पछिल्लो समय लोकप्रिय बन्दै गएको च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान बर्खास्त भएको पाँच दिनमै पदमा पुनर्बहाली भएका छन्। यो पाँच दिनमा कम्पनीलाई क्षति पुग्ने गरी तीव्र गतिविधि भए, जसले अल्टम्यानको पुनर्बहाली बाध्यता बन्यो।
गएको शुक्रबार कम्पनीको सञ्चालक समिति (बोर्ड अफ डाइरेक्टर्स)ले अल्टम्यानलाई पदबाट बर्खास्त गरेको थियो। बोर्डले जारी गरेको ‘स्टेटमेन्ट’मा अल्टम्यान संवाद तथा छलफलमा अस्पष्ट हुने गरेको कारण उनीप्रति कम्पनीको भरोसा घट्दैै गएको उल्लेख थियो।
कम्पनी स्थापनाको आठ वर्षपछि सहसंस्थापक अल्टम्यानलाई निस्कासित गर्ने बोर्डको निर्णयले प्रविधि जगत नै स्तब्ध भएको थियो। त्यसमाथि प्रविधि क्षेत्रका ‘सुपरस्टार’ मानिने र योग्य सीईओको छवि बनाएका अल्टम्यानलाई बोर्ड अफ डाइरेक्टर्सले कम्पनीको नेतृत्व गर्न असक्षम भएको आरोप लगाउँदै बर्खास्त गर्दा सबै अचम्मित भएका थिए। अल्टम्यानको बर्खास्तीको विरोधमा कम्पनीका अर्का सहसंस्थापक तथा अध्यक्ष ग्रेग ब्रोकम्यानले राजीनामा दिए। ब्रोकम्यान एकाएक अल्टम्यानको पक्षमा उभिएपछि प्रविधि क्षेत्रमा चर्चाको विषय भयो। कम्पनीको ८६ अर्ब डलर अनुमान गरिएको शेयर मूल्य खतरामा पर्ने समाचार बाहिरिए।
दुई दिनमै कम्पनीमा निकै उथलपुथल आयो। ५०० भन्दा धेरै कर्मचारीले अल्टम्यानलाई फिर्ता नबोलाए सामूहिक राजीनामा दिने चेतावनी दिए। त्यहीबीच अल्टम्यान माइक्रोसफ्ट कम्पनीमा जान तम्तयार भएको समाचार आयो। माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले सोमबार बिहान ग्रेग ब्रोकम्यानसँगै अल्टम्यान नयाँ एआई अनुसन्धान विभागको नेतृत्व गर्न माइक्रोसफ्टमा सामेल हुने बताएका थिए। यसैबीच, ओपन एआईले ट्विचका पूर्वप्रमुख एम्मेट शियरलाई आफ्नो अन्तरिम सीईओको रूपमा नियुक्त गरेको जनाएको थियो। तर अन्त्यमा कहानीमा एकाएक ‘ट्विस्ट’ आयो र अल्टम्यानले ओपन एआईको सीईओमै पुनरागमन गरे।
दुई पक्षबीच समझदारीपछि अल्टम्यान पुरानै पदमा फर्किएको ओपन एआईले जनाएको छ। ओपन एआईले सञ्चालक समिति पनि हेरफेर गरेको छ। नयाँ सञ्चालक समितिका अध्यक्ष सेल्सफोर्सका पूर्वसीईओ टेलर प्रिन्स छन्। अन्य दुई सदस्यमा ल्यारी समर्स र प्रश्न उत्तर स्टार्टअप क्वराका सीईओ एडम डी’एन्जेलो छन्। यसअघि बोर्डमा कम्पनीका कर्मचारीसमेत रहेका ग्रेग ब्रोकम्यान (अध्यक्ष), साम अल्टम्यान (सीईओ), इल्या सुत्वेकर (मुख्य वैज्ञानिक) र कर्मचारी नरहेका क्वराका सीईओ एन्जेलो, टाशा म्याकाउली र हेलेन टोनर थिए। नयाँ समितिमा पुरानो टिमका एन्जेलो मात्रै छन्।
पुरानो सञ्चालक समितिले अल्टम्यानलाई निकालेपछि राजीनामा दिएका कम्पनीका सहसंस्थापक ग्रेग ब्रोकम्यान पनि कम्पनीमै फर्किएका छन्। बोर्ड अफ डाइरेक्टर्सले आफूलाई कम्पनीमा फर्काउने निर्णय गरेपछि अल्टम्यानले खुशी व्यक्त गरेका छन्। उनले नयाँ बोर्ड र सत्या नाडेलाको सहयोगका कारण आफू कम्पनीमा फर्किएको बताएका छन्।
“मलाई ओपन एआई मन पर्छ। मैले केही दिनसम्म जे गरेँ यस टोली र यसको मिसनलाई एकसाथ राख्ने सेवामा केन्द्रित छ,” उनले एक्समा लेखेका छन्, “म ओपन एआईमा फर्किन र माइक्रोसफ्टसँग बलियो साझेदारीको निर्माण गर्न तत्पर छु।”

माइक्रोसफ्ट, टाइगर ग्लोबल, थ्राइभ क्यापिटल र सेक्विया क्यापिटललगायत प्रख्यात लगानीकर्ताहरूको समूहले अल्टम्यान बर्खास्त गर्ने बोर्डको निर्णयलाई एक दिन अघिबाट उल्टाउन काम गरिरहेको समाचार सार्वजनिक भएका थिए।
माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले पनि ओपन एआई बोर्ड डाइरेक्टर्सको निर्णयको प्रशंसा गरेका छन्। “यो थप स्थिर र प्रभावकारी बाटोमा पहिलो आवश्यक कदम हो भन्नेमा हामी विश्वास गर्छौं,” उनले एक्समा लेखेका छन्, “हामी हाम्रो बलियो साझेदारी निर्माण गर्न र हाम्रा ग्राहक तथा साझेदारहरूलाई एआईको अर्को पुस्ताको महत्त्व प्रदान गर्न तत्पर छौँ।”
उनको पुनर्बहालीसँगै थ्राइभले पनि बुधबार विज्ञप्ति प्रकाशित गरी खुशी व्यक्त गरेको छ। “ओपनएआईसँग कम्प्युटिङको इतिहासमा सबैभन्दा प्रभावकारी कम्पनीहरूमध्ये एक हुन सक्ने क्षमता छ। साम र ग्रेगसँग कम्पनीको निष्ठाप्रति गहिरो प्रतिबद्धता छ। प्रेरणा र नेतृत्व गर्ने अतुलनीय क्षमता छ। उनीहरूले स्थापना गरेको कम्पनीमा पुनः सामेल हुन पाउँदा हामी उत्साहित छौँ,” विज्ञप्तिमा भनिएको छ।
ओपन एआई र अल्टम्यानको सम्बन्ध
कृत्रिम बौद्धकता अर्थात् एआई (आर्टिफिसियल इन्टिलिजेन्स) निकै शक्तिशाली प्रविधिको रुपमा अघि बढीरहेको छ। ओपन एआईलाई स्थापित गराउने प्रमुख भूमिका अल्टम्यानको रहेको मानिन्छ।
सन् २०१५ मा ३८ वर्षीय अमेरिकी उद्यमी अल्टम्यानसहित ग्रेग ब्रोकम्यान, रीड होफम्यान, जेसिका लिभिङ्स्टन, पिटर थियल, एलोन मस्क, अमेजन वेब सेवाहरू, इन्फोसिस, र वाईसी अनुसन्धान मिलेर एक अर्ब डलर लगानीमा ओपन एआई सञ्चालनमा ल्याएका थिए। २०१९ मा अल्टम्यानले प्रमुख कार्यकारी अधिकारीको जिम्मेवारी ग्रहण गरे। ओपन एआईले अघिल्लो वर्षको नोभेम्बर ३० मा च्याटजीपीटी लन्च गरेको केही समयमै यसले कम समयमै सबैभन्दा धेरै प्रयोगकर्ता बनाउने रेकर्ड तोडेर लोकप्रिय स्टार्टअपका रुपमा देखा पर्यो। च्याट जीपीटी अल्टम्यानकै ‘आइडिया’ भएको बताइन्छ। च्याट जीपीटीले यसलाई सोधेको जुनसुकै प्रश्नको सहजै र द्रुत सृजनशील उत्तर दिन्छ। बुधबारदेखि यसले आवाजमै कुराकानी गर्ने फिचर पनि ल्याएको छ।
ओपन एआईमा साम अल्टम्यान, ग्रेग ब्रोकम्यान, एलोन मस्क, रीड होफम्यान, जेसिका लिभिङ्स्टन, पीटर थिएल, अमेजन वेब सेवा, इन्फोसिस र वाईसी अनुसन्धानको लगानी रहेको छ।
गत महिना मात्रै ओपन एआई ८६ अर्ब डलर बराबरको शेयर बेच्ने वार्तामा थियो। तर अल्टम्यानको बर्खास्तीसँगै त्यसको मूल्य झर्ने आँकलन गरिएको थियो। उनको पुनर्बहालीले त्यो ‘दुर्भाग्य’ टर्यो।
पछिल्लो समय एआई मानव जीवनको अभिन्न हिस्सा बन्दै गएको छ। सामाजिक सञ्जाल चलाउनेदेखि विभिन्न ग्याजेटको प्रयोग गर्नमा पनि यो जोडिएको छ। सुन्नमा यो कुनै हलिउड चलचित्रको कहानी जस्तो लागे पनि यस क्षेत्रमा काम गर्ने विज्ञहरू यसले कि त विश्वलाई बचाउन सक्ने, कि तहसनहस गर्ने बताउँछन्। त्यसैले यसमा ठूलाठूला कम्पनी तथा धनाढ्यहरूले लगानी गरिरहेका छन्। अल्टम्यान ती सीमित व्यक्तिभित्र पर्छन्, जसको हातमा भविष्यलाई परिभाषित गर्ने एआई प्रविधिको चाबी छ।
च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई सुरक्षित तथा मानिसको लागि फाइदा पुग्ने कृत्रिम बौद्धिकता बनाउने उद्देश्यले एक गैर नाफामूलक संगठनका रूपमा स्थापना भएको थियो। तर पछिल्लो समय यसको शेयर मूल्यलाई लिएर कम्पनीमा आन्तरिक द्वन्द्व बढ्दै गएको थियो।
केही दिनअघि, साम अल्टम्यानले च्याटजीपीटीको लागि माग बढ्दै गइरहेको भन्दै यसलाई पूरा गर्न गाह्रो भइरहेको बताएका थिए। उनले एक्समा लेखेका थिए, “कम्पनीले यस उत्पादन (च्याटजीपीटी) मा शीर्षस्तरको सदस्यता माग बढेपछि उपभोक्ताहरूको लागि साइनअप बन्द गर्नु परेको छ।”
तर के यसकै कारण अल्टम्यानलाई कम्पनीले बर्खास्त गरेको होला त? यो प्रश्नको जवाफ ठ्याक्कै पाउन गाह्रो छ। तर उनले लामो समयदेखि सार्वजनिक रूपमै एआईले निम्त्याउने जोखिमहरूबारे चेतावनी दिँदै आएका छन्। साथै, उनले जिम्मेवारीपूर्वक ओपन एआईलाई अगाडि बढाउने सांसद र ग्राहकहरूलाई वाचा गरेका थिए।
उसो त, कम्पनीले नाफा कमाउँदै गएपछि सञ्चालक समितिबाटै ‘कू’ हुने र कम्पनीका मालिकले नै जागिर गुमाउने नयाँ घटना होइन। ३८ वर्षअघि एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सलाई पनि सञ्चालक समितिले यसैगरी निकाला गरेको थियो। त्यसपछि उनले ‘नेक्स्ट’ कम्प्युटर बनाए। त्यसलाई पछि एप्पलले नै किन्यो। अन्त्यमा १२ वर्षपछि जब्स एप्पल कम्पनीमै सीईओका रूपमा फर्किए। अहिले अल्टम्यान पाँच दिनमै फर्किएका छन्। उनको यति चाँडो पुनरागमनलाई वर्तमान समयमा एआईको शक्तिका रुपमा पनि हेरिएको छ।
–एजेन्सीहरूको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
