अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

जितका लागि पाएको २०९ रनको लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। 

काठमाडौँ– भारतले पहिलो टी२० आई खेलमा अस्ट्रेलियामाथि २ विकेटको रोमान्चक जित हात पारेकोछ। 

विशाखापट्नममा जितका लागि पाएको २०९ रनको विशाल लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। 

भारतको जितमा कप्तान सुर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए। ईशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए।

भारतलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिएको थियो। रिंकु सिंहले पहिलो बलमा चौका हाने। दोस्रो बलमा १ रन जोडे। तेस्रो बलमा अक्षर पटेल कट एन्ड बोल्ड आउट भए। चौथो बलमा रवि विश्वो रनआउट भए।

पाँचौँ बलमा अर्शदिप सिंह पनि रनआउट भएका थिए। अन्तिम बलमा एक रन चाहिँदा नो बल गरेपछि भारत विजयी भएको थियो। रिंकु सिंह १४ बलमा ४ चौकासहित २२ रनमा नटआउट रहे।

यशस्वी जैसवालले २२ र तथा तिलक बर्माले १२ रनको योगदान दिए। अस्ट्रेलियाका जेहसन बेहरनडोफ, म्याथ्यु शर्ट र शन एबोटले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

अस्ट्रेलियाका जोश इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित ११० रनको शतकीय इनिङ्स खेले। स्टिभ स्मिथ ५२ रन तथा म्याथ्यु शर्ट १३ रनमा आउट भए। टिम डेविड १९ रनमा नटआउट रहे।

भारतका प्रसिद्ध कृष्णा र रवि विश्वोईले समान १–१ विकेट लिए। यससँगै पाँच टी२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ।