अहिले पनि ओलाङचुङगोला हुकरले १७५ वर्षअघि देखेजस्तै छ। छेवैबाट तमोर बग्छ। नदीको पूर्वपट्टि बस्ती छ। कतिपय ठाउँमा फट्केर नै नदी तर्न सकिन्छ। वरिपरि तालीसपत्र र धुपीसल्लाका रूख छन्।
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट गत कात्तिक १३ गते हिँडेको टोली टिपताला भन्ज्याङ पुगेर १७ गते फुङलिङ नै आइपुग्यो। पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष आनन्द गौतमले मलाई पनि टिपताला जाने सूचीमा राखेका थिए। रहर भए पनि व्यक्तिगत कारणले जान सकिनँ। म तीनपटक ओलाङचुङगोलासम्म पुगिसकेको छु, तर टिपताला जाने रहर छँदैछ।
यसपटक गौतम नेतृत्वको टोलीले तमोरको तिरैतिर मित्लुङ, सिँवा, तापेथोक, लेलेप, ओलाङचुङगोला हुँदै ५२६८ मिटर उचाइमा रहेको टिपताला यात्रा पाँच दिनमा नै पूरा गर्यो। यसअघि कुनै भ्रमण टोलीले यति छिटो यात्रा पूरा गरेका थिएनन्।
फक्ताङलुङ गाउँपालिका-७ मा पर्छ टिपताला। त्यहाँ राखिएको ७९ नम्बरको स्तम्भले चीन र नेपालको सीमा छुट्याएको छ। केही वर्ष अघिसम्म यही यात्रा गर्न १० दिनसम्म समय छुट्याउनुपर्थ्यो।
पहिले सडक थिएन। फुङलिङबाट हिँडेको दिन सिँवामा बास बस्नुपर्थ्यो। दोस्रो दिन तापेथोक, तेस्रो दिन इलाडाँडा बास बसेर अर्को दिन मात्रै गोला पुगिन्थ्यो। अहिले सुकेपानीसम्म गाडी जान्छ। बास नबसी एकै दिनमा ओलाङचुङगोला पुगिने भएको छ।
“सडकका कारण यात्रा छोटियो। अब लेलेप, ओलाङचुङगोला टाढा रहेन,” फक्ताङलुङ गाउँपालिका-६ का वडाध्यक्ष पेम्बाटासी शेर्पा भन्छन्, “अब पर्यटन प्रवर्धनको योजना बनाउछौँ।”
म फुङलिङमा नै जन्मे हुर्कें। गोला र त्यहाँमाथिको टिपताला नाका धेरै टाढा थिए। जाने बाटो अप्ठ्यारो। जो कोही जान सक्दैनन् भन्ने थियो। जिल्लाबाहिरका मानिस त आक्कलझुक्कल हो पुग्ने। अब सडक बन्यो। सजिलो पदमार्ग बन्यो। अक्करे भिरमा पनि ठमठमी हिँड्न सकिने भएको छ।
चीनले २०७७ सालमा ताप्लेजुङलाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा म पछिल्लोपटक गोला पुगेको थिएँ। त्यसबेला टासीगाउँसम्म मात्र गाडी जान्थ्यो। फुङलिङबाट बिहान ७ बजे गाडी चढेका थियौँ। गाडीबाट ओर्लिएर एक घण्टा दूरीमा रहेको इलाडाँडा पुगेर बास बसेका थियौँ। इलाडाँडादेखि गोला करिब ६ घण्टा पैदल हिँडेपछि मात्र पुगिन्थ्यो। यी दुई गाउँबीचमा अरू बस्ती थिएनन्। त्यसैले बिहानै खाना खाएर हिँडिसक्नु पर्थ्यो। इला पुगेपछि बास नबसी धरै थिएन। अहिले इलाभन्दा एक घण्टामाथि रहेको सुकेपानीसम्म गाडी जान्छ। त्यही दिन गोला पुग्न सकिन्छ।

अहिले हिँड्नलाई पनि रमाइलो छ। जंगलको बाटो। तमोर नदीको किनार। चराचुरुंगीको चिरबिर आवाज र नदीको सुसाहटले मन फुरुंग हुन्छ। नदी कतै छाँगा बनेर खस्छ, कतै गहिरो खोँचमा लुकामारी गर्दै बग्छ। अझै सुन्दर ओलाङचुङगोला बस्ती पुगेर हातले बुनेको गलैँचामा बसेर सोझ्या (चौँरीको दूध र घ्यु तथा नुन हालेर बनाइएको चिया) सुरुप्प…सुरुप्प पार्ने आकांक्षाले गलेका खुट्टालाई पाइला अघि बढाउने साहस थप्छ। हिमाली मनमोहक दृश्यले बाटो काटेको पत्तै हुँदैन।
गोलाबाट टिपताला भन्ज्याङ २१ किलोमिटर टाढा छ। गोलादेखि टिपताला पुगेर आउन तीन दिन छुट्याउनुपर्छ। पहिलो दिन मौमाटारमा बास बस्नुपर्छ। त्यहाँ याक/चौँरीका गोठ छन्, त्यहीँ बस्ने हो। सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) पनि छ। भोलिपल्ट टिपताला पुगेर बस्न मौमाटार नै आइपुग्नुपर्छ।
स्थानीयका अनुसार थिपथलाबाट अपभ्रंश भई टिपताला भएको हो। स्थानीय भाषामा थिप भनेको ओझेल र थला भनेको ठाउँ हो। घामको ओझेलमा पर्ने भएकाले स्थानीयले थिपथला नाम राखेको बताइन्छ।
वनस्पतिविद् जोसेज डाल्टन हुकरले सन् १८४८ मा लेखेको पुस्तकको नेपालसम्बन्धी खण्डको अनुवाद कञ्चनजंघा जुहारमा (अनुवादक: हस्त गुरुङ) यो क्षेत्रको वर्णन गरेका छन्। उनले त्यसबेला टिपतालासम्म पुगेर वनस्पति, भूबनोट र रहनसहनको अध्ययन गरेका थिए। पुस्तकमा हुकरले फुङलिङबाट गोला पुग्न ६ दिन लागेको उल्लेख गरेका छन्।
गोलाको वर्णन हुकरले यसरी गरेका छन्, “तमोर उपत्यकाको उज्यालो र फराकिलो खुला फाँटमा बसेको यो गाउँ १० हजार ३८५ फिटको उचाइमा छ। तलतिरका अन्य गाउँभन्दा यो गाउँको प्राकृतिक विषेशता भिन्न छ। यो फराकिलो र विस्तृत क्षेत्रमा फैलिएको छ। यहाँका खोला तेज गतिमा बग्छन्, तर त्यति खतरनाक छैनन्। यिनका फाँट किनारा र वरपरका भेगमा प्रशस्त घाँस हुर्केका छन्। १० हजार फिटमाथिको हिमाली क्षेत्रमा बसेका बस्ती उराठलाग्दा र अनाकर्षक हुन्छन्। यहाँ भने प्रशस्त ठूला रुख पनि भएकाले ओलाङचुङगोला त्यति निरस थिएन।”
अहिले पनि ओलाङचुङगोला हुकरले १७५ वर्षअघि देखेजस्तै छ। छेवैबाट तमोर बग्छ। नदीको पूर्वपट्टि बस्ती छ। कतिपय ठाउँमा फट्केर नै नदी तर्न सकिन्छ। वरिपरि तालीसपत्र र धुपीसल्लाका रूख छन्। लहरै अनि बाक्लै घर भएको। कुनै शहर नै हो कि जस्तो।
अद्भुत ओलाङचुङगोला
गोलाको विशेषता अन्य बस्तीको भन्दा फरक र विशिष्ट छ। यहाँ हिउँदमा सबै बासिन्दालाई देख्न बिहान १० देखि १२ बजेको समयमा मात्रै सम्भव हुन्छ। किनभने त्यसबेला घाम ताप्न घरबाहिर निस्कन्छन्। चिसो बस्तीमा हिउँदको घाम सबैलाई प्यारो हुने नै भयो। अरुबेला पुरुषहरू चौँरीगोठ र घाँस दाउरामा लाग्छन्। कि घरभित्रै बस्छन्। महिला घरधन्दा गर्दै गलैँचा बुन्छन्। खेतीपाती हुँदैन।
यहाँको मुख्य आम्दानीको स्रोत नै चौँरीपालन हो। चौँरीको दूधबाट छुर्पी बन्छ। यसको चमर पनि बिक्छ। बुढो हुँदै गएपछि बिक्री हुने एउटा चौँरीको बजार मूल्य टिपताला नाका बन्द हुनुअघि ८० हजारदेखि एक लाख रुपैयाँसम्म थियो। चीनको तिब्बत लगेर बिक्री हुन्थ्यो।

गलैँचा पनि चीनमै बिक्री हुन्थ्यो। प्रतिगोटा ८० हजारसम्म पर्छ। चीन नजिक भएकाले खाद्यान्नलगायत धेरै बस्तु उतैबाट ल्याइन्थ्यो। यो बस्ती ताप्लेजुङ सदरमुकामबाट २८ कोस टाढा छ। यहाँ वालुङ जातिका ५६ परिवारको बसोबास छ । हरेक परिवार घरको दोस्रो तलामा बस्छन् । पहिलो तलामा घाँस, दाउरा राख्ने, पशुचौपाया बाँध्ने गरिन्छ। तर कुनै पनि घरमा तेस्रो तला छैन।
यहाँका ९५ प्रतिशत घर काठका छन्। यो बस्तीमा झगडा भएको निवेदन अहिलेसम्म प्रहरीकहाँ परेको छैन। जात्रा, पर्वमा पनि शान्ति सुरक्षा खलबलिएला भनेर प्रहरीले चिन्ता गर्नु पर्दैन। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षसहित सदस्यहरू गाउँलेको भेलाले छानेको थियो। पालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको थियो। “हामी सबै जना आ-आफ्नै काममा व्यस्त हुन्छौँ। त्यसैले अहिलेसम्म गाउँलेबीच विवाद भएको छैन,” वडाध्यक्ष छेतेन भोटे भन्छन्, “मेलमिलाप र एकता हाम्रो पहिचान हो।
यहाँको दिकिछ्योलिङ गुम्बा पनि चर्चित छ। उक्त गुम्बा ४०० वर्ष पुरानो भएको स्थानीयको भनाइ छ।
फुटुक पर्व
गोलामा कात्तिक कृष्ण द्वितीयादेखि औँसीसम्म फुटुक पर्व मनाइन्छ। यो पर्व नेपालमा अन्त कतै मनाइँदैन। फुटुक मनाउन देश विदेशमा रहेका वालुङ समुदायका मानिस गोला पुग्छन्। वडा सदस्य टासी लामाका अनुसार यस वर्ष जिल्ला बाहिरबाट १०० भन्दा बढी पाहुना फुटुकमा सहभागी भए।

फुटुक अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन्। देव नृत्यसमेत देखाउने चलन छ। पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ। आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई आकाशदीपझैँ माथि फालिन्छ।
दिकीछ्योलिङ गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन्। यस्तै लामाले देवता र राक्षसको मुखुन्डो लगाएर युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर देखाउने गर्छन्। आकाशदीप फालेसँगै फुटुक पर्वको अन्तिम कार्यसमेत समापन हुने टाँसीको भनाइ छ।
निर्माणाधीन सडक
टिपताला नाका हुँदै चीन–भारत जोड्ने दुई सडक वर्षौँदेखि निर्माणाधीन छन् तमोर करिडोर र मेची राजमार्ग। तमोर नदीको किनारै किनार जाने करिडोर ताप्लेजुङसहित पाँचथर, धनकुटा, सुनसरी र मोरङ हुँदै रानी भन्सार पुग्छ। पाँचथर र इलाम हुँदै काँकडभिट्टा नाकासँग जोडिएको मेची राजमार्गसँग उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग फुङलिङमा जोडिन्छ।
तमोर करिडोरले २५१ किलोमिटरमा चीन र भारतलाई जोड्छ। यो चीनसँगको सिमाना टिपतालादेखि रानी भन्सारसम्मको दूरी हो। तिब्बतको रिउ बजारबाट टिपताला २५ किलोमिटर मात्रै दूरीमा छ। काँकडभिट्टाबाट फूलबारी बन्दरगाहको बाटो भएर जोडिने भएकाले बंगलादेशसँगको कारोबार पनि नजिकैबाट हुनेछ। अझ भारतको सिक्किम जोडिन लागेको मध्यपहाडी लोकमार्गको चिवा भन्ज्याङखण्ड मेची राजमार्ग पाँचथरको गणेशचोकमा जोडिन्छ।
चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र सडक सञ्जालले जोड्न यहाँका बासिन्दा स्वयंले सडकमा लगानी जुटाए। गाउँलेले ३ करोड रुपैयाँ संकलन गरे। देश तथा विदेशमा रहेका गोलाबासीले आर्थिक सहयोग गरे। अनि टिपतालादेखि गोलासम्म २४ किलोमिटर सडक आफैँ खने। राज्यको नजर नपरेको सुदूर बस्तीलाई अन्तरदेशीय सीमासँग सडकले जोडिदिए। सडक निर्माणपछि चीनका गाडी भने गोलाको बस्तीसम्म आएर फर्कने गरेका थिए।
तर अहिले उक्त सडक बाढीले छिन्नभिन्न छ। उताबाट भने टिपतालासम्म नै कालोपत्रे सडक छ। फुङलिङबाट गएको सडक दक्षिणतर्फबाट गोलामा जोडिन अब करिब दुई किलोमिटर बाँकी छ। यहीँ जन्मिएका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत भन्छन्, “पर्यटन र अन्तरदेशीय व्यापार प्रवर्द्धनका लागि तमोर करिडोर निर्माण चाँडो सम्पन्न हुनुपर्छ। त्यसपछि टिपताला भन्ज्याङ हुँदै आयात–निर्यात हुनसक्छ र यसले पूर्वी पहाडी जिल्लाका स्थानीयलाई अझै फाइदा पुग्छ।”
पर्यटकीय सम्भावना
तिब्बतसँग परापूर्वकालदेखि व्यापारिक कारोबार गर्दै आएको ओलाङचुङगोलामा भन्सार, सीमा प्रशासन, हुलाकलगायत कार्यालय छन्। तर कर्मचारी नबसेपछि यी कार्यालय बन्द छन्।
कोरोनाअघिसम्म ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुरका चिराइतो, सतुवाजस्ता जडिबुटी, ऊन यहीँबाट तिब्बत निर्यात हुने गर्थ्यो। उताबाट लत्ताकपडा, खाद्यान्न, गलैँचा बुन्ने धागो आयात हुन्थ्यो। कोरोनाकालमा बन्द नाका नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ। टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ।
गोलाबाट याङ्मा-नाङगोला-घुन्सा हुँदै कञ्चनजंघा हिमाल पुग्न सकिन्छ। ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै ताल र पोखरी भएको जिल्लाका रूपमा परिचित छ। यो क्षेत्रमा मात्रै ४०० भन्दा बढी साना-ठूला ताल र पोखरी रहेको बताइन्छ। यो एशियामा नै पहिलोपटक समुदायलाई संरक्षणको जिम्मा लगाइएको कञ्चनजंघा क्षेत्र पनि हो। त्यसैले संरक्षणको सफल अभ्यास र त्यसले स्थानीयको जनजीवनमा पारेको सकारात्मक प्रभावका कारण पनि गोला, लेलेप र घुन्सा क्षेत्र महत्त्वपूर्ण छन्।
संरक्षणकर्मीका लागि यो अध्ययन तथा अनुसन्धानको केन्द्रसमेत बन्न सक्ने दुई दशकभन्दा बढी समयदेखि यस क्षेत्रको रिपोर्टिङ गरिरहेका पत्रकार आनन्द गौतमको भनाइ छ। “धेरै सम्भावना बोकेको क्षेत्र हो ओलाङचुङगोला र टिपताला नाका। तमोर नदीको शिर तथा छोटो दूरीको त्रिदेशीय नाका,” गौतम भन्छन्, “यहाँको पर्यटकीय सम्भावनाको प्रचार र नाका सञ्चालनका लागि दबाब दिन महासंघले पत्रकारको टोली नाकासम्म पुर्याएर ल्याएको हो।”
पत्रकारको टोलीले गोलाका स्थानीयको सहजीकरणमा सीमावर्ती तिब्बतको डिङ्जे काउन्टीका प्रतिनिधिसँग पनि भेटेको थियो। “उनीहरू नाका खोल्न सकारात्मक नै रहेछन्। माथिको आदेश नआएकाले ढिलो भएको बताए,” गौतमले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
