रोनाल्डोको २ गोलमा अल–नासरको सहज जीत

शुक्रबार राति भएको खेलमा अल–नासरले अल–ओखदुदलाई ३–० ले पराजित गरेको छ।

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल–नासरले साउदी प्रो लिगमा अल–ओखदुदमाथि सहज जीत दर्ता गरेको छ। 

रियादको अल-अवाल पार्क स्टेडियममा शुक्रबार राति भएको खेलमा अल–नासर ३–० ले विजयी भयो। खेलको १३औँ मिनेटमा सामी अल नाजेईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। 

दोस्रो हाफको ७७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर पारे। ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए। 

जीतपछि अल–नासर ३४ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम छ। अल–नासरले १४ खेल खेलेको छ।

एक खेल कम खेलेको अल–हिलाल ३५ अंकसहित शीर्ष स्थानमा छ।